बाँके, फागुन १६ गते ।
बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र रिजाल सरुवा भएर अन्यत्र जानै लाग्दा बिवादीत बनेका छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत सिडिओ रिजालले कक्षा १० को एसईई परीक्षा केन्द्र निर्धारणमा अनियमितता गरेको आरोप लगाएपछि यो विषय चर्किएको हो।
मेयर आचार्यले फेसबुक स्टाटसमा लेख्दै रिजालले केही संस्थागत विद्यालयहरूसँग परीक्षा केन्द्र तोक्ने क्रममा सौदाबाजी गरेको दाबी गरेका छन्। उनले लेखेका छन्, “राज्यको महत्वपूर्ण पदमा रहेका व्यक्ति नैतिक रूपमा भ्रष्ट भए समाज कसरी चौपट हुन्छ भन्ने उदाहरण दिन सफल हुनुभएको छ।”
उनका अनुसार सिडिओ रिजालले केही गलत प्रवृत्तिका व्यक्तिहरूसँगको साँठगाँठका आधारमा परीक्षा केन्द्र तोक्ने काम गरेका छन्, जसले कोहलपुरको मर्यादित परीक्षा प्रणालीमा धक्का लागेको छ।
“अधिकारको चरम दुरुपयोग गर्दै परीक्षा केन्द्र हेरफेर गर्ने नाममा अनुचित चलखेल भएको छ। तपाईंको निर्णयले हामीलाई निरुत्साहित बनाएको छ। कसरी र किन यस्तो भयो, खुल्दै जानेछ, तर विद्यार्थीको भविष्य चौपट हुने निर्णयको हामी सामना गर्नेछौँ,” मेयर आचार्यको भनाइ छ।
उनले शिक्षाको गुणस्तर सुधार र मर्यादित परीक्षा प्रणाली सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको भन्दै कसैले यसमा हस्तक्षेप गर्न नहुने चेतावनी दिएका छन्।
तर, यस विषयमा सिडिओ रिजालले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। यो बिषय अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ।