नेपालगञ्ज, फागुन ३ गते।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ मा अवस्थित दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिको प्रवक्तामा पत्रकार आलम खान नियुक्त भएका छन्। दारुल उलुम फैजुन्नबी जामा मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँको अध्यक्षतामा शनिबार बसेको बैठकले आलमखानलाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। खान जामा मस्जिद सञ्चालक समितिको सदस्य समेत रहेका छन्।
नेपालगञ्जको यस ऐतिहासिक मस्जिद तथा इदगाह पश्चिम नेपालकै मुस्लिम समुदायको धार्मिक आस्थासँग जोडिएको छ। धार्मिक तथा सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको यो संस्थाले समुदायको हितमा कार्यहरू गर्दै आएको छ।
नवनियुक्त प्रवक्ता आलमखानले धार्मिक तथा सामाजिक गतिविधिहरूलाई प्रभावकारी बनाउने तथा समुदायलाई आवश्यक सूचनाहरू सम्प्रेषण गर्ने जिम्मेवारी सम्हाल्ने बताएका छन्। उनले सञ्चालक समितिको निर्णय तथा गतिविधिहरूलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
समितिले उनको अनुभव तथा पत्रकारिताको पृष्ठभूमिले धार्मिक तथा सामाजिक गतिविधिहरूलाई थप व्यवस्थित बनाउन योगदान दिने विश्वास व्यक्त गरेको छ।