बाँके माघ २८ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुल बहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई विशेष प्रशिक्षण प्रदान गर्नुभएको छ। उक्त प्रशिक्षण कार्यक्रममा प्रहरी आचरण, सेवाग्राहीसँगको व्यवहार, सामाजिक सञ्जालको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो।
प्रहरी उपरीक्षक कार्कीले प्रहरीको मुख्य दायित्व जनताको सेवा, सुरक्षाको प्रत्याभूति र कानुनी शासनको पालना गराउनु रहेको बताउनुभयो। उहाँले प्रहरी कर्मचारीहरूले सेवाग्राहीहरूसँग शिष्ट व्यवहार गर्नुपर्ने, कानून अनुसार कार्य गर्नुपर्ने र आम नागरिकसँग विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा विशेष जोड दिनुभयो।
प्रशिक्षण कार्यक्रममा प्रहरी उपरीक्षक कार्कीले सामाजिक सञ्जालको उचित प्रयोगबारे सचेत गराउनुभयो। एसपी कार्कीले प्रहरी आचरणबारे बोल्दै अनुशासन, इमानदारिता र व्यावसायिक दक्षता कायम राख्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार प्रहरी संगठन आम नागरिकको सेवामा समर्पित संस्था भएकाले सेवाग्राहीसँग विनम्रता, धैर्य र कानुनी प्रक्रियालाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता छ।
उक्त प्रशिक्षण कार्यक्रममा बाँके जिल्लाका विभिन्न प्रहरी चौकी तथा कार्यालयहरूबाट खटिएका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। प्रशिक्षणपछि सहभागीहरूले प्रहरी सेवा प्रभावकारी बनाउन प्रशिक्षण उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।
प्रहरी प्रशासनलाई पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिमैत्री बनाउनका लागि यस्ता तालिम तथा प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।