बाँके माघ २२ गते ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले बाँकेको जयसपुर क्षेत्रमा अवैध कपडा बरामद गरेको छ। सीमा प्रहरी चौकी जयसपुर इन्चार्ज प्रहरी निरीक्षक रविन्द्र बहादुर बमको संयुक्त टोलीले भारतीय सीमाबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको कपडा बरामद गरेको हो।
प्रहरीका अनुसार, भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेका २४० थान उनी साल र ३५ जोर कुर्ता सुरुवाल बरामद गरिएको छ। उक्त कपडाको अनुमानित बजार मूल्य करिब ६० हजार रुपैयाँ रहेको बताइएको छ। नेपालगञ्जमा भन्सार छली गरी कपडा भित्र्याउने गिरोह सक्रिय रहेको र यसलाई नियन्त्रण गर्न प्रहरी निरन्तर गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीका अनुसार, बरामद गरिएको कपडा नेपालगञ्ज भन्सार कार्यालयमा पठाउने प्रक्रिया अगाडि बढाइएको छ। उनले सीमावर्ती क्षेत्रमा अवैध सामान ओसारपसार रोक्न प्रहरी थप सतर्क रहेको पनि जानकारी दिए।
नेपाल-भारत खुला सीमाका कारण सीमावर्ती क्षेत्रहरूमा अवैध व्यापार फस्टाउँदै गएको छ। लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा प्रहरीको निगरानी बढाइए पनि तस्करहरूले नयाँ तरिकाबाट चोरीपैठारी गर्ने गरेको देखिएको छ। प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा गस्ती बढाउनुका साथै सूचना संकलनलाई तीव्र बनाएको छ।
एसपी कार्कीका अनुसार, प्रहरीको गस्तीका कारण पछिल्लो समय विभिन्न प्रकारका अवैध सामान बरामद गर्ने कार्य तीव्र बनेको छ। “हामीले अवैध सामान ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्नुपर्छ। यसका लागि स्थानीय समुदायको सहयोग पनि आवश्यक छ,” उनले भने।
जिल्लाको नेपालगञ्ज, कोहलपुर, राप्ती सोनारी, नरैनापुर,जानकी, डुडुवा जस्ता क्षेत्रमा अवैध सामान ओसारपसारका घटना बढ्दै गएका छन्। प्रहरीले स्थानीय समुदायलाई सचेत रहन र कुनै पनि शङ्कास्पद गतिविधि देखेमा तुरुन्तै प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
नेपाल-भारत खुला सिमानाका कारण सीमावर्ती क्षेत्रहरूमा तस्करी नियन्त्रण गर्नु चुनौतीपूर्ण छ। स्थानीय प्रशासन, भन्सार कार्यालय, तथा सुरक्षाकर्मीहरूले संयुक्तरूपमा कारबाही गर्ने हो भने मात्र यस्ता गतिविधि नियन्त्रण गर्न सकिन्छ।
अवैध कपडा तस्करीको यो घटनाले पुनः सीमावर्ती सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठाएको छ। सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाएर मात्र यस्ता गतिविधिहरूलाई रोक्न सकिने प्रहरीको भनाइ छ।