नेपालगन्ज माघ १३ गते।
नेपाल पत्रकार महासङ्घ बाँके शाखाले नेपालगञ्जमा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले जारी गरिएको प्रेस विज्ञप्तिमा उद्योग वाणिज्य संघले पत्रकारहरूको पेशागत सम्मान र स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै ध्यानाकर्षण गराइएको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा नेपालगन्जमा जारी ‘प्रादेशिक महोत्सव २०८१’ मा पत्रकारहरूको सहज प्रवेश, पहुँच र रिपोर्टिङमैत्री वातावरण निर्माणका लागि महासंघले चासो व्यक्त गर्दै आएको सर्वविदितै छ।” विज्ञप्तिमा महोत्सवमा सहभागी पत्रकारहरूमाथि गरिएको अवाञ्छित व्यवहार र असहज परिस्थितिका घटनाहरूले महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
महासंघले वाणिज्य संघलाई यस्ता घटनाहरू रोक्नका लागि तत्काल कदम चाल्न अनुरोध गर्दै पत्रकारहरूको पेशागत कर्तव्य निर्वाह गर्ने स्वतन्त्रता सुनिश्चित गर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “पत्रकारहरूले स्वतन्त्र रूपमा समाचार संकलन र प्रसारण गर्ने वातावरण निर्माण गर्न सबै पक्षले सहयोग गर्नुपर्छ। यस विषयमा कुनै पनि प्रकारको अवरोध प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताको उल्लंघन ठहरिनेछ।”
नेपालगन्जमा जारी महोत्सवमा पत्रकारहरूको पहुँच र रिपोर्टिङ प्रक्रियालाई सहज बनाउने विषयमा महासंघले निरन्तर चासो व्यक्त गर्दै आएको छ। महासंघले वाणिज्य संघलाई यसबारे तत्काल सुधारात्मक कदम चाल्न र पत्रकारहरूलाई सम्मानजनक व्यवहार गर्न आग्रह गरेको हो।
महोत्सव आयोजकले पत्रकारहरूलाई मिडियाले जारी गरेको परिचयपत्रका आधारमा महोत्सव स्थलमा प्रवेश गर्न सक्ने व्यवस्था गरेको जानकारी गराएको थियो। तर, माघ १२ गते शनिबार मञ्च परिसरमा फोटो खिच्ने र भिडियो छायांकन गरिरहेका न्युज बाँके अनलाइन मिडियाका पत्रकार टार्जन ओलीमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि महासंघले गम्भीर आपत्ति जनाएको हो।
त्यसैगरी पत्रकार टार्जन वलीमाथि भएको दुर्व्यवहारको घटनाप्रति प्रेस चौतारी नेपाल बाँके र नेपाल प्रेस युनियन बाँकेले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघले वाणिज्य संघसहित सबै सरोकारवाला पक्षहरूलाई आपसी समन्वय र समझदारीका साथ अघि बढ्न आग्रह गर्दै स्वतन्त्र प्रेसको महत्वलाई सम्मान गर्न आह्वान गरेको छ।