काठमाडौं माघ ६ गते।
नेपाल प्रहरीका चार जिल्लाका प्रहरी उपरीक्षक (एसपी) पद रिक्त भएको छ। सोमबार २५ जना एसपीलाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएसँगै बारा, सिन्धुपाल्चोक, नुवाकोट, र इलामका एसपीको पद खाली भएको हो।
एसएसपीमा बढुवा सिफारिस हुनेमा बारा प्रहरी प्रमुख महेन्द्र खड्का, सिन्धुपाल्चोक प्रहरी प्रमुख सन्तोष खड्का, नुवाकोट प्रहरी प्रमुख शान्तिराज कोइराला र इलाम प्रहरी प्रमुख प्रभु ढकाल रहेका छन्। उनीहरूको बढुवा सिफारिसपछि ती जिल्लामा नयाँ एसपी नियुक्त गर्न प्रहरी प्रधान कार्यालयले तयारी गरिरहेको छ।
यस्तै, बाँके, पर्सा, रुपन्देही, गोरखा, काभ्रे, कञ्चनपुर, झापा, बागलुङ, कैलाली, डोटी, गुल्मी, मोरङ र सुर्खेतलगायत जिल्लामा एसपीहरूको कार्यकाल झण्डै एक वर्ष पुग्न लागेकाले ती जिल्लामा पनि छिट्टै नयाँ प्रमुख पठाइने जनाइएको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर निकट स्रोतका अनुसार बाँके, पर्सा, बारा, रुपन्देही, झापा, कैलालीजस्ता जिल्ला प्रतिष्ठित र चुनौतीपूर्ण मानिन्छन्। ती जिल्लामा प्रमुख बन्न चाहने एसपीहरूको सङ्ख्या धेरै रहेको प्रहरी मुख्यालय स्रोतले जनाएको छ।
प्रहरी संगठनमा एसपीहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने गर्छ। ठूला र आपराधिक गतिविधि बढी हुने जिल्लाहरूमा एसपीहरूको व्यवस्थापन क्षमता निर्णायक मानिन्छ। बाँके,बारा, पर्सा, रुपन्देही, कैलाली, र झापा जस्ता जिल्लामा प्रभावकारी नेतृत्व आवश्यक हुने भएकाले योग्य र अनुभवी अधिकारीहरूको माग उच्च रहेको छ।
नयाँ एसपीहरूको सूची तयार पार्ने काम अन्तिम चरणमा रहेको र गृह मन्त्रालयसँग छलफल भइरहेको स्रोतले जनाएको छ। यस पटकको बढुवामा योग्यता, अनुभव र कार्यक्षमतालाई प्राथमिकतामा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नयाँ एसपीहरूको नियुक्तिपछि ती जिल्लाहरूको सुरक्षा व्यवस्थापनमा थप प्रभावकारिता आउने विश्वास गरिएको छ। प्रहरी संगठनले दक्ष र अनुभवी नेतृत्वमार्फत शान्ति सुरक्षा प्रभावकारी बनाउन काम गरिरहेको छ।