बाँके माघ ५ गते ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण, बागेश्वरी हेडक्वाटर बाँकेको आयोजनामा २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा लागू औषध दुर्व्यसनी रोकथामका लागि जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ। समाजसेवा संस्थाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५, जमुनाहा सीमामा आयोजित सो नाटकले लागू औषध दुर्व्यसनीका दुष्प्रभाव र रोकथामका उपायहरूलाई प्रभावकारी रूपमा जनसमक्ष प्रस्तुत गरेको थियो।
सीमावर्ती क्षेत्र जमुनाहा नाकामा सर्वसाधारण नागरिक, विद्यार्थी, व्यवसायी र आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी प्रस्तुत गरिएको नाटकको उद्देश्य लागू औषध दुर्व्यसनीको रोकथाम गर्दै सर्वसाधारणलाई सचेत बनाउनु रहेको आयोजकले बताएका छन्। चौबीसौँ सशस्त्र प्रहरी दिवसको कार्यक्रमलाई सशस्त्र प्रहरी निरीक्षक कमल केसीले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रस्तावित गुल्मका गुल्मपति प्रदीप बुदाथोकी, बडैया बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कमल केसी, जयसपुर बीओपी प्रमुख ललित शाही नेपालगञ्ज वडा नम्बर १५ का वडाध्यक्ष मदन विक्रम शाह संचारकर्मी लगायत सशस्त्र प्रहरीहरूको उपस्थिति रहेको थियो।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले २४ औँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा आयोजित यस कार्यक्रमको प्रशंसा गर्दै सशस्त्र प्रहरी बल र समाजसेवा संस्थाको प्रयासलाई धन्यवाद ज्ञापन गरे। उनले भने, “लागू औषध दुर्व्यसनीको रोकथाममा यस्ता जनचेतनामूलक कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्छन्। सीमावर्ती क्षेत्रका नागरिकहरूलाई सचेत गराउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ।”
नाटकले विशेष गरी युवाहरूमाझ लागू औषध दुर्व्यसनीले पार्ने नकारात्मक प्रभाव, पारिवारिक तथा सामाजिक समस्याहरू, र यसलाई रोकथाम गर्नका लागि अपनाउनुपर्ने व्यवहारिक उपायहरूलाई उजागर गरेको थियो। नाटक हेर्नका लागि सीमावर्ती क्षेत्रमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।