मंसूर अली इद्रिशी
बाँके पुष २९ गते-नरैनापुर गाउँपालिका वडा नम्बर ३ बालापुरका एमाले भातृ संगठनका चर्चित युवा नेता साकिर खान अचानक आफ्नो जन्मस्थल छोडेर बेपत्ता भएको विषयले चर्चा पाएको छ। लिमरा खबरले खानको विषयमा विशेष अनुसन्धान गर्दै उनका जन्मस्थल बालापुर पुगेर स्थानीयबासीसँग संवाद गर्दा सात-आठ महिनादेखि उनी जन्मस्थलमा नदेखिएको पुष्टि भएको छ। स्थानीयले साकिर खानको ठेगाना हालसम्म थाहा नपाएको बताए।
लिमरा खबरले खानको पछिल्लो अवस्थाबारे थप खोज गर्दा, उनी व्यवसायका लागि करिब सात महिना अघि कुवेत गएको जानकारी प्राप्त भएको छ। कुवेतमा रहेका लिमरा खबरका संवाददाता दुर्गेश जयसवालले केही दिन अघि खान विदेशमा घुमिरहेको प्रमाण फेला पारेका थिए।
खानसँग प्रत्यक्ष सम्पर्क गर्दा उनले कुवेत गएको स्वीकार गर्दै भने, “म व्यवसायका लागि कुवेत आएको हुँ। नेपालमा आर्थिक समस्याले गर्दा विदेश आउन बाध्य भएको छु। मेरो व्यक्तिगत व्यवसायको आवश्यकता पनि छ।”
पत्रकारले उनलाई जन्मस्थल छोड्न गाह्रो भएको प्रश्न गर्दा उनले भने, “यो निर्णय सहज थिएन, तर परिस्थितिले बाध्य बनायो। कुवेतमा केही समय बसिसकेपछि म आफ्नो जन्मस्थान नरैनापुर गाउँपालिका वडा नम्बर ३ बालापुर फर्किनेछु। हामी २०८४ सालको चुनावी तयारीमा छौं।”
खानले भने अनुसार, उनी कुवेतमा आफ्नो व्यक्तिगत व्यवसायसँगै आफ्नो राजनीतिक भविष्यका योजनामा समेत केन्द्रित छन्। उनले थपे, “नेपालको अर्थतन्त्र कमजोर छ। यस्तो अवस्थामा, मैले विदेशमा रोजगारी र व्यवसाय गर्ने निर्णय गरेको हुँ। तर, मेरो राजनीति र जन्मस्थलप्रतिको जिम्मेवारी कहिल्यै बिर्सने छैन।”
स्थानीयबासीका अनुसार, खानको अभावले गाउँमा उनको नेतृत्वको कमी महसुस भइरहेको छ। गाउँमा युवा नेताका रूपमा उनको प्रभाव र योगदान प्रशंसनीय थियो। तर, उनको अचानक विदेश पलायनले गाउँका कतिपय मानिसहरू निराश छन्।
राजनीतिक वृत्तमा उनको पलायनलाई विभिन्न कोणबाट हेर्ने प्रयास भइरहेको छ। कतिपयले उनलाई व्यवसाय र राजनीतिक रणनीतिको नाममा जन्मस्थान छोडेको आरोप लगाएका छन्। अर्कोतर्फ, उनका समर्थकहरूले उनको निर्णयलाई परिस्थितिजन्य बाध्यता र भविष्यप्रतिको सोचका रूपमा व्याख्या गरेका छन्।
साकिर खानले अन्त्यमा भने, “म केही समयमै नेपाल फर्कनेछु। मेरो उद्देश्य मात्र व्यवसाय नभई देश र समुदायको सेवामा योगदान पुर्याउनु पनि हो।” उनको यो कथनले उनको समर्थक र आलोचक दुवैलाई प्रतीक्षाको अवस्थामा राखेको छ। अब उनी कहिले र कसरी जन्मस्थानमा फर्किन्छन् भन्ने विषयले थप चासो पाएको छ।