नेपालगञ्ज पुष २६ गते ।
बाँकेको नेपाल–भारत सीमा क्षेत्र शिपरी नाकाबाट सुरक्षाकर्मीकै मिलोमतोमा ठूलो मात्रामा तस्करी भइरहेको स्थानीयहरूले गुनासो गरेका छन्। शिपरी नाका ३६ नम्बर पिलर आसपासबाट सुपरपावर माछा, कपडा, हार्डवेयर, सुर्ती लगायतका सामानहरूको व्यापक तस्करी भइरहेको पाइएको छ।
स्थानीयका अनुसार भारतीय तस्कर पंकजले सीमाक्षेत्रमा सक्रिय रूपमा तस्करी सञ्चालन गर्दै आएका छन्। पंकजले सुरक्षाकर्मीहरूसँग मिलेमतो गरी सीमाबाट अवैध सामान ओसारपसार गर्दै आएका छन्। विशेषतः राति र बिहानको समयमा तस्करी तीव्र हुने र सीमाक्षेत्रका विभिन्न बाटोहरू प्रयोग गरी सामान नेपाल भित्र्याउने गरेको बताइएको छ।
तस्करीलाई सहज बनाउन पंकजले मासिक रूपमा लाखौं रुपैयाँ सुरक्षाकर्मीलाई बुझाउँदै आएको स्थानीयले दाबी गरेका छन्। जानकी गाउँपालिकाको वडा नम्बर १ र २ को सीमाक्षेत्रमा साइकल र भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोग गरी सामान ओसारपसार गरिएको छ। शिपरी, जलपोखरी, देबभट्टा हुँदै इन्द्रपुर चौकका बाटोहरू तस्करीका लागि प्रमुख मार्गका रूपमा प्रयोग हुने गरेको स्थानीय स्रोतले जनाएको छ।
तस्करी तीव्र हुँदा स्थानीय बासिन्दाहरूले घरायसी प्रयोजनका सामान ल्याउनसमेत असहजता भोग्नुपरेको छ। सुरक्षाकर्मीको ध्यान तस्करीतर्फ रहेको भन्दै स्थानीयले सीमाक्षेत्रमा सुरक्षाको अवस्था कमजोर बनेको आरोप लगाएका छन्। तस्करी रोकथामका लागि सुरक्षाकर्मीहरूको भूमिका निष्पक्ष र प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ।
स्थानीयका अनुसार सुरक्षाकर्मीहरू आर्थिक प्रलोभनका कारण तस्करीमा मूकदर्शक बनेका छन्। तस्करी रोक्न ध्यान दिने नाममा सुरक्षाकर्मीहरूले देखाउनकै लागि केही सामान बरामद गर्ने गरे पनि यसले कुनै प्रभाव नपरेको उनीहरूको गुनासो छ।
स्रोतका अनुसार, उच्च तहबाट दबाब आएपछि मात्र सुरक्षाकर्मीले सामान बरामद गर्ने देखिने गरेको छ। तस्करीमा संलग्न समूहहरूबीचको विवादमा सुरक्षाकर्मीले एक पक्षलाई सहयोग गरी अर्को पक्षलाई कमजोर बनाउने रणनीति अपनाउने गरेको बताइएको छ।
भारतबाट तस्करी गरिएका माछाहरू काठमाडौं पुर्याइने गरेको छ। तस्करीका लागि भारतीय नम्बर प्लेटका मोटरसाइकलहरू लामबद्ध हुने गरेको र राजस्व छलीको ठूलो अंश माछाको निकासीमा हुने स्थानीयले बताएका छन्।
स्थानीय बासिन्दाहरूले तस्करी रोक्न सीमाक्षेत्रमा कडा निगरानी राख्न र भारतीय नम्बरका मोटरसाइकल तथा तस्करीमा संलग्न समूहमाथि कडा कारबाही गर्न माग गरेका छन्। साथै, सीमाक्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बलियो बनाउनुपर्ने र तस्करी नियन्त्रणका लागि प्रभावकारी उपाय लागू गर्नुपर्ने स्थानीयको भनाइ छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी हेडक्वाटरका प्रमुख बिमल डागी र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तूल बहादुर कार्कीले तस्करी नियन्त्रणमा विशेष चासो दिनुपर्ने स्थानीयले बताएका छन्। तस्करीको गतिविधिले सीमाक्षेत्रमा सुरक्षाको अवस्था झन् कमजोर बनाउँदै लगेको भन्दै स्थानीयले प्रभावकारी कारबाहीको माग गरेका छन्।
बाँकेको शिपरी नाकामा भइरहेको तस्करी र सुरक्षाकर्मीकै मिलोमतोको आरोपप्रति सम्बन्धित निकायले तत्काल ध्यान दिन आवश्यक देखिन्छ। सीमाक्षेत्रमा सुरक्षाको उपस्थिति बलियो नबने तस्करीले अझ गम्भीर रुप लिने खतरा छ।