बाँके मंसिर २२ गते।
नेपालगञ्जमा मानवता र फिलिस्तीन शहीदहरूको सम्झनामा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल मुस्लिम शान्ति समाज, एक्टिभ युनियन अर्गेनाइजेसन नेपाल, सद्का पंजतन पाक समिति, र इको नेपाल फाउन्डेसनको संयुक्त आयोजनामा भएको हो।
कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मीना बोहरा सिद्दिकी रहनु भएको थियो। पूर्व लुम्बिनी प्रदेश सभा सदस्य याकुब अन्सारी र नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहको विशेष उपस्थिति रहेको कार्यक्रममा शान्ति, एकता, र मानवताको सन्देश प्रवाह गरियो।
कार्यक्रम सञ्चालन डा. जैनुल आबदिनले गर्नुभएको थियो। हाफिज सगिर खानले शुभकामना मन्तव्य दिंदै मानवता र शान्तिका लागि समाजका सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। वक्ताहरूले विशेषगरी फिलिस्तीन युद्ध र हिंसाबाट प्रभावित बालबालिका, महिला, र पत्रकारहरूको सम्मान गर्दै उनीहरूका लागि न्याय र शान्तिको पक्षमा एकजुट हुन आह्वान गरे।
वक्ताहरूले फिलिस्तीनको युद्ध र त्यसबाट प्रभावित समुदायहरूको दुःखद अवस्थाबारे चर्चा गरे। बालबालिका र महिलाहरू युद्ध र हिंसाका पहिलो शिकार हुने भएकाले उनीहरूको अधिकारको संरक्षणका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिइयो।
प्रमुख अतिथि मीना बोहरा सिद्दिकीले शान्ति, मानवता, र एकताको पक्षमा सबै समुदाय र धर्मगुरुहरूको सहकार्य आवश्यक रहेको बताउँदै समाजमा सकारात्मक परिवर्तनका लागि एकताको खाँचो औंल्याउनुभयो। पूर्व लुम्बिनी प्रदेश सभा सदस्य याकुब अन्सारीले समाजमा सद्भाव र एकता कायम राख्न सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्ने विचार व्यक्त गर्नुभयो। नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले स्थानीयस्तरमा शान्ति प्रवर्द्धनका लागि भएका प्रयासहरूको जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न धर्म, जाति, र समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। धर्मगुरु, पत्रकार, र समाजसेवीहरूले मानवता र शान्तिका लागि सहकार्य र सहिष्णुताको सन्देश प्रवाह गरे। सहभागीहरूले यस्तो प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै समुदायबीच आपसी समझदारी र सहकार्य बढाउने विश्वास व्यक्त गरे।