बाँके मंसिर १६ गते।
नेपालगञ्ज उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट दलको नेतामा सराफत हुसेन शेषलाई मनोनीत गरिएको छ। सराफत हुसेन नेपालगञ्ज वडा नम्बर ५ का वर्तमान निर्वाचित वडा अध्यक्ष हुन्। उनी लामो समयदेखि सक्रिय रूपमा स्थानीय राजनीति र सामाजिक कार्यमा संलग्न हुँदै आएका छन्।
जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष दुर्गाप्रसाद बर्माका अनुसार सराफत हुसेनको नेतृत्वमा उपमहानगरपालिकामा पार्टीको उपस्थिति अझै सशक्त हुने विश्वास गरिएको छ। बर्माले भने, “सराफतजीको नेतृत्व क्षमताले पार्टीको नीतिलाई सफलतापूर्वक कार्यान्वयन गर्न मद्दत गर्नेछ र स्थानीय विकासमा योगदान पुर्याउनेछ।”
नेपालगञ्ज उपमहानगरपालिकाको नगर कार्यपालिकामा जसपा पार्टीको भूमिका अझ प्रभावकारी बनाउन सराफतलाई दलको नेताको रूपमा चयन गरिएको पार्टी स्रोतले जनाएको छ। साथै, पार्टीले जनतासँगको सम्बन्ध सुदृढ गर्दै समग्र नगर विकासका लागि प्रभावकारी योजनाहरू अघि बढाउने तयारी गरिरहेको छ।
सराफत हुसेनले आफूलाई दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै समग्र नगरको विकास र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “यो जिम्मेवारीले मलाई नगरवासीका आवश्यकताहरूलाई नजिकबाट बुझ्न र समाधान गर्न थप प्रेरणा दिएको छ,” उनले भने।
उक्त मनोनयनसँगै जसपाको स्थानीय नेतृत्वमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ। नगरवासीहरू पनि सराफतको नेतृत्वमा नगरको विकास र सुधार हुने आशामा छन्। मनोनित शेष यसअघि (जसपा) बाँकेका प्रमुख सचेतक हुनुहुन्थ्यो ।