बाँके मंसिर १६ गते।
बाँके जिल्लामा गोरु तस्करी भइरहेको खुलासा भएको छ। प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीलाई गुमराहमा राख्दै डुडुवा गाउँपालिकाको बककटटी र कम्दी तथा राप्तीसोनारी गाउँपालिकाको ढलैया क्षेत्रमा गोरु लोड गरी तस्करी भइरहेको पाइएको छ।
गएराति राप्तीसोनारीस्थित शिवखोलामा नेपाली सेनाको टोलीले पत्रकार आशिष मल्लको टोलीको समन्वयमा दुई ट्रक गोरु नियन्त्रणमा लिएको छ। यस क्रममा, प्रहरी गोरु तस्करीमा संलग्नता रहेको आरोप लागेको छ। जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरले कुसुम प्रहरीलाई सूचित गरेको थियो। कुसुम प्रहरीले दुई जना प्रहरीलाई मल्लको टोलीसँग पठाए पनि बाँकी तीन ट्रक भने भगाइएको मल्लले आरोप लगाएका छन्।
पत्रकार मल्लले गोरु तस्करीका बाटोका सबै प्रहरी इन्चार्ज मिलेमतोमा रहेको दाबी गरेका छन्। “दिनमा ट्रक रोक्ने तर राति तस्करी हुन दिनु प्रष्ट मिलेमतो हो,” मल्लले भने। यस विषयमा एसपी कार्कीले घटनाबारे आफूलाई जानकारी नभएको बताउँदै दोषीमाथि कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गरे। “जो कोही भए पनि कानूनी कारबाही हुनेछ,” उनले भने।
स्रोतका अनुसार तस्करहरूले बककटटी, कम्दी, ढलैया, बैजापुर, अगैया र कुसुम क्षेत्रका प्रहरी इन्चार्जलाई ठूलो रकम दिएर तस्करी जारी राखेका छन्। बककटटीका असई हरिलाल न्यौपाने, कम्दीका सई मोहन केसी, ढलैयाका असई मोहन भडेल, बैजापुरका सई कमल थापा र कुसुमका सई मोहन वली तस्करीमा संलग्न भएको आशंका गरिएको छ।
अहिलेसम्म नियन्त्रणमा लिइएका गोरु र ट्रकलाई भन्सार कार्यालय नेपालगञ्ज पठाउन तयारी भइरहेको छ। यो घटनाले बाँके जिल्लामा प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ। तस्करी नियन्त्रणका लागि उच्च तहबाट ठोस कदम उठाइने स्थानीयबासीहरुले अपेक्षा गरिएको छ।