नेपालगञ्ज, मंसिर १४ गते ।
ट्राफिक व्यवस्थापनमा सुधार र ई-रिक्सा सञ्चालनलाई व्यवस्थित बनाउन नेपालगञ्ज क्षेत्रमा ई-रिक्सा चालकहरूलाई विशेष प्रशिक्षण प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा करिब ३० जना ई-रिक्सा चालकहरूलाई ट्राफिक नियम, पार्किङ स्थान, यात्रु चढ्ने र ओर्लने स्थानसम्बन्धी जानकारी दिइएको हो।
नेपालगञ्ज बजार क्षेत्रमा ई-रिक्साको संख्या दिनदिनै बढ्दै गइरहेको छ। यसले गर्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त समस्या समाधानका लागि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो।
प्रशिक्षणमा ट्राफिक नियमको पालना, सुरक्षित ड्राइभिङ प्रविधि, सवारीको नियमित मर्मतसम्भार तथा यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिने विषयमा विशेष जानकारी प्रदान गरिएको थियो। साथै, प्रमुख बजार क्षेत्र र व्यस्त चोकमा पार्किङ व्यवस्थापनलाई सहज बनाउन विशेष पार्किङ स्थानहरू निर्धारण गरिएको जानकारीसमेत दिइएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) तुलबहादुर कार्की, ट्राफिक प्रहरी, र ई-रिक्सा संघका प्रतिनिधिहरूको उपस्थिति थियो। ई-रिक्सा चालक हुसेन बेहनाले भने, यस्तो प्रशिक्षणले आफ्नो कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने बताए। सहभागी चालकहरूले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेले आगामी दिनमा थप प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।