नेपालगञ्ज मंसिर १३ गते।
बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर १ मा पर्ने बेलडाँडा सिमानाकाबाट चाइनिज लसुनको तस्करी तीव्र भएको छ। भारतीय बजारमा चाइनिज लसुनको मूल्य वृद्धि भएपछि नेपालबाट अवैध रूपमा लसुन भारततर्फ पठाउने क्रम बढेको हो।सशस्त्र प्रहरी बल नेपालले तस्करी नियन्त्रणका लागि बेलडाँडा क्षेत्रको सीमा सुरक्षा बल (बीओपी) बाट त्यस क्षेत्रमा असईको कमांडमा ८ जनाको टोली तैनाथ गरेको छ। तर, स्थानीय प्रत्यक्षदर्शीका अनुसार नेपाल प्रहरीको राधापुर चौकीको क्षेत्रबाट चाइनिज लसुन सजिलै भारततर्फ तस्करी भइरहेको छ।
स्रोतका अनुसार, भारतीय नागरिक आदिल हलवाईको नेतृत्वमा तस्करी भइरहेको छ। नेपालमा चाइनिज लसुनको मूल्य भारतको तुलनामा सस्तो भएकाले किलोमा करिब ४०० रुपैयाँको नाफा हुने हुँदा तस्करहरूको सक्रियता बढेको हो। खजुरा बजारबाट दिनभरि अटो र पिकअपमा लोड गरी बेलडाँडामा लसुन भण्डारण गरिन्छ। त्यसपछि रातिको समयमा “१० गजा” नाकाबाट भारततर्फ पठाइन्छ।
स्थानीय स्रोतले जनाए अनुसार, जानकी गाउँपालिका वडा नम्बर १ पचपोखराका चर्चित तस्कर तोहिद कपडिया नेपालतर्फको तस्करीको जिम्मेवारी सम्हालिरहेका छन्। उनी रातको समयमा करिब ५० क्विन्टल चाइनिज लसुन भारततर्फ पुर्याउने गरेका छन्। साइकिल र मोटरसाइकल प्रयोग गरी सीमाबाट करिब १०० मिटर टाढासम्म लसुन पुर्याइन्छ र भारतमा लगिन्छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको आँखा अगाडि नै यो तस्करी भइरहेको छ। चाइनिज लसुनसँगै भारतबाट कपडा, हार्डवेयर सामग्री, चिनी, र राजनिगन्धा सुपरपावर जस्ता सामान पनि नेपालमा तस्करी भइरहेको बताइन्छ।बेलडाँडा क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी हेडक्वार्टरका गणपति बिमल डाँगीले मातहतका सबै युनिटलाई कडा रूपमा तस्करी रोक्न निर्देशन दिएका छन्। यद्यपि, केही भ्रष्ट सशस्त्र प्रहरीका कारण संगठनमाथि नै बदनामी आएको स्थानीयहरूको भनाइ छ।
चाइनिज लसुनको उच्च मूल्यका कारण नेपालबाट भारततर्फ लसुनको तस्करी बढेको र सीमावर्ती क्षेत्रहरूमा सुरक्षाका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। बेलडाँडा नाका खुला रहेको र तस्करी नियन्त्रणको लागि सुरक्षा संयन्त्र कडा पार्नुपर्ने आवाज उठ्दै आएको छ।
स्थानीय बासिन्दाले तस्करी नियन्त्रणमा सरकारी निकायको भूमिकामा प्रश्न उठाउँदै सुरक्षा अधिकारीहरूलाई जवाफदेही बनाउन माग गरिरहेका छन्। बेलडाँडा नाकाबाट हुने यस प्रकारको तस्करीले केवल स्थानीय अर्थतन्त्रलाई मात्र होइन, सुरक्षा व्यवस्थालाई समेत चुनौती दिइरहेको छ।सरकार र सुरक्षा निकायले शीघ्र कदम नचाले तस्करीको यो समस्या झनै विकराल रूप लिन सक्ने चिन्ता स्थानीयहरूले व्यक्त गरेका छन्।
आँखैअघि तस्करी भइरहेको भए पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले वास्ता नगरेको स्थानीयहरूले आरोप लगाएका छन्। एक स्थानीय बासिन्दाले नाम नछाप्ने शर्तमा भने, “तेल र उपभोग्य सामान तस्करीको त कुरै नगरौं, अहिले त मुख्य रूपमा लसुन तस्करी भइरहेको छ।”
उनका अनुसार, तस्करहरूले दुवै पक्षका सुरक्षाकर्मीहरूसँग ‘सेटिङ’ मिलाएकाले सामान निर्बाध रूपमा ओसारपसार भइरहेको छ। यो प्रक्रियाले सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि भएका प्रयासहरू कमजोर बनाउँदै गएको र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको स्थानीयले बताए।