मंसूर अली इद्रिशी
जानकी बाँके मंसिर ८ गते-एकीकृत अखिल नेपाल शिक्षक संगठन जानकी गाउँपालिका, बाँकेले शिक्षामा सुधार र शिक्षक कर्मचारीहरूको हक अधिकार सुनिश्चित गर्न ६ बुन्दे मागसहित गाउँपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। संगठनले स्थापनाकालदेखि नै शिक्षक तथा कर्मचारीहरूको ट्रेड युनियन अधिकार र शैक्षिक गुणस्तर अभिवृद्धिको पक्षमा संघर्ष गर्दै आएको छ।
संगठनले प्रस्तुत गरेको मागपत्रमा शिक्षामा कुल बजेटको २० प्रतिशत विनियोजन गर्नुपर्ने र संविधानमा उल्लेख गरिए अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क गरिनुपर्ने मुख्य मागहरू रहेका छन्। साथै, विषयगत तथा ताहगत दरबन्दीको उचित व्यवस्थापन, सबै स्वीकृत विद्यालयहरूमा स्थायी दरबन्दीको व्यवस्था, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको स्थायी दरबन्दी सिर्जना, र उनीहरूको सेवा सुरक्षाका लागि ठोस कदम चाल्नुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा बाल विकास शिक्षकको तलब तथा सेवा सुविधालाई प्राथमिक तृतीय श्रेणीको सरह कायम गर्नुपर्ने कुरा विशेष रूपमा उल्लेख गरिएको छ।संगठनका प्रतिनिधिहरूले शिक्षामा सुधारका लागि पेशागत अधिकारसँगै समग्र शैक्षिक सुधारको खाँचो रहेको बताउँदै ज्ञापनपत्रमार्फत ठोस कदम चाल्न माग गरेका छन्। संगठनका अध्यक्ष जितबहादुर बर्माले भने, “हाम्रो गौरवशाली संगठनले समग्र शैक्षिक पक्ष सुधारको लागि आवाज उठाउँदै आज पालिका प्रमुखमार्फत विभिन्न माग राखेका छौं। शिक्षाको गुणस्तर अभिवृद्धि र शिक्षक कर्मचारीहरूको हक अधिकार सुनिश्चित गराउन हाम्रो निरन्तर प्रयास जारी छ।”
ज्ञापनपत्र बुझ्दै जानकी गाउँपालिका प्रमुख छब्बन खानले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरूको योगदानलाई उच्च सम्मान गर्दै प्रस्तुत मागहरूलाई गम्भीरतापूर्वक लिने प्रतिवद्धता व्यक्त गरे। उनले पालिकाको शैक्षिक क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न आवश्यक कदम चाल्ने र आगामी नीति तथा कार्यक्रमहरूमा प्राथमिकता दिने प्रमुख खानले बताए।
शिक्षामा लगानी वृद्धि, शिक्षकहरूको सेवा सुविधा सुधार, र बाल विकास शिक्षक तथा कर्मचारीहरूको स्थायीत्वका विषयमा भएका यी मागहरूले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास संगठनले व्यक्त गरेको छ।
पालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा प्रस्तुत मागप्रति पालिकाको ध्यानाकर्षण भएको बताएका छन्। लिमरा खबरसँग कुरा गर्दै उनले शिक्षक संगठनले उठाएका मागहरू शिक्षाको गुणस्तर सुधार र शिक्षक कर्मचारीहरूको हितमा केन्द्रित रहेको भन्दै पालिकाले पहल गर्ने आश्वासन दिए। यादवले संगठनले प्रस्तुत गरेका विषयवस्तुहरूलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा प्राथमिकताका साथ लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
संगठनले यसअघि पनि विभिन्न स्तरका सरकारी निकायहरूसँग संवाद र दबाबमूलक कार्यक्रमहरू गर्दै आएको छ। तर, यी मागहरूको शीघ्र कार्यान्वयनका लागि स्थानीय तहले ठोस कदम चाल्नुपर्ने संगठनको भनाइ छ।