बाँके, मंसिर ६ गते।
जिल्ला प्रहरी कार्यालय बाँकेमा फौजदारी कसुरको अनुसन्धानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आज बिहान प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा जिल्ला अदालत बाँकेका न्यायाधीश भिष्मराज प्रसाईंको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै अनुसन्धानसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा फौजदारी कसुरको अनुसन्धान कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो। न्यायाधीश प्रसाईंले अनुसन्धानका क्रममा अपनाउनुपर्ने विधि र कानुनी प्रावधानबारे जानकारी गराएका थिए। साथै, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख र अन्य कानुन व्यवसायीहरूले अनुसन्धान प्रक्रियामा कानुनी पक्षको महत्त्वबारे प्रशिक्षण दिएका थिए।
प्रहरी प्रवक्ता डीएसपी आयुष जोशीका अनुसार यस कार्यक्रमको उद्देश्य प्रहरी अधिकृत तथा अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई व्यावहारिक ज्ञान र कानुनी पक्षबारे सशक्त बनाउनु रहेको थियो। उनले भने, “फौजदारी अनुसन्धानमा कानुनी र व्यावहारिक पक्षहरूको समन्वय गर्न सके मात्र न्यायिक प्रक्रिया प्रभावकारी हुन्छ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्की, प्रहरी इकाईका प्रमुखहरू, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।यस प्रकारका अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमले प्रहरीका अनुसन्धान प्रक्रियामा पारदर्शिता र विश्वास वृद्धि हुने विश्वास कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका छन्। अपराध अनुसन्धानका क्रममा देखापर्ने चुनौतीहरू समाधान गर्न र अनुसन्धानलाई थप सशक्त बनाउन यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा न्यायाधीश प्रसाईंले प्रहरी र न्यायिक निकायबीचको सहकार्यले मात्र फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन सकिने बताउँदै यस्ता कार्यक्रमहरूले अनुसन्धान प्रक्रियामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे। बाँके प्रहरीद्वारा आयोजित यो कार्यक्रमले स्थानीय सरोकारवालाबीच संवादको अवसर प्रदान गर्दै अनुसन्धान प्रक्रियामा नयाँ सोच र दृष्टिकोण प्रस्तुत गरेको छ।