नेपालगञ्ज मंसिर २ गते।
जिल्ला प्रहरी कार्यालय बाँकेले कात्तिक महिनामा गरेको विभिन्न कार्यहरू प्रभावकारी मानिएका छन्। कात्तिक महिनामा मात्रै ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरी १२ वर्ष ५ महिना २० दिन कैद तथा ५ लाख २० हजार १६८ रुपैयाँ जरिवाना असुल गर्ने प्रक्रिया अघि बढाइएको छ। फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीका प्रवक्ता एवं डीएसपी आयुश प्रसाद जोशीले जानकारी दिए।
प्रहरीले कात्तिक महिनामा अवैध सामानहरू पनि ठूलो मात्रामा बरामद गरेको छ। २० लाख ७५ हजार ६५० रुपैयाँ बराबरको भन्सार छलेका सामग्री, जसमा एउटा कार समेत समावेश छ, बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ। जिल्लामा दर्ता भएका ११८ मुद्दामध्ये २०३ जना व्यक्तिलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको छ भने ४० वटा पेण्डिङ मुद्दाहरू समाधान गरिएका छन्।
ठाडो उजुरीका ४१५ निवेदनमध्ये ४०० फछ्र्यौट भएको र बाँकी १५ निवेदन प्रक्रियामा रहेको प्रहरीको भनाइ छ। महिला तथा बालबालिकासम्बन्धी मुद्दामा ११ जना पक्राउ परेका छन् भने ४६ घरेलु हिंसाका उजुरीमध्ये ३० वटा फछ्र्यौट भएको र अन्य अनुसन्धान प्रक्रियामा छन्।
अवैध उत्खननमा संलग्न तीनवटा ट्र्याक्टर नियन्त्रणमा लिएर ३० हजार रुपैयाँ जरिवाना गराई सम्बन्धित निकायमा बुझाइएको छ। हराएका दुई मोटरसाइकल र १० वटा स्मार्ट मोबाइल पनि फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ। बेपत्ता भएका २३ जनामध्ये ९ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको छ भने बाँकीको खोजी भइरहेको छ। ट्राफिक कारबाहीमा कात्तिक महिनामा २,७८२ सवारीसाधन कारबाहीमा परेका छन् र २४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
लागुऔषध मुद्दामा कात्तिक महिनामा २४ जनालाई पक्राउ गरी २८.५ ग्राम ब्राउन सुगर र २०८ नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको छ। विषादी प्रयोग गरेर लुटपाट गर्ने गिरोहका सदस्यहरूलाई पनि पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ।समुदाय प्रहरी सहकार्य अन्तर्गत ४८ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। जसमा लागुऔषध र आत्महत्यासम्बन्धी १२ वटा, चोरीका ९ वटा र अन्य जनचेतनामूलक कार्यक्रम समावेश छन्। ट्राफिक सचेतना अभियानमा लेन अनुशासन, जेब्रा क्रसिङ र ट्राफिक नियम सम्बन्धी २२८ पटक कार्यक्रम आयोजना गरिएको छ।
प्रहरी कार्यालयले आन्तरिक सुधारमा पनि ध्यान दिएको छ। इलाका प्रहरी कार्यालय बैजापुरलाई उत्कृष्ट इकाई घोषणा गरिएको छ भने अनुशासन उल्लंघन गर्ने तीन प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ।चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नेपालगन्ज बसपार्क, राँझा विमानस्थल र जमुनाहा नाकामा तालिम प्राप्त कुकुरद्वारा चेकजाँच गरिएको छ। यस्तै, गस्ती टोलीहरूले विभिन्न क्षेत्रमा सुरक्षाका उपायहरू लागू गरेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको प्रयासले जिल्लामा शान्ति सुरक्षा मजबुत बनाएको र जनतामा विश्वास बढाएको प्रहरीको विश्वास छ।