बाँके कार्तिक २७ गते।
नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयलाई कोहलपुर स्थानान्तरण गर्न लागिएको विषयलाई लिएर जनता समाजवादी पार्टी नेपाल बाँकेले कडा आपत्ति जनाएको छ। (जसपा) नेपाल बाँकेले उक्त स्थानान्तरण प्रक्रियालाई रोक्न माग गर्दै एक विज्ञप्ति जारी गरेको छ। नेपालगन्जमा रहेको यातायात कार्यालयलाई कोहलपुर स्थानान्तरण गर्ने निर्णयले सर्वसाधारणमा असुविधा र असन्तुष्टि उत्पन्न हुनेछ, जसले गर्दा यस कदमलाई तुरुन्त रोक्न जसपा नेपाल बाँकेले जोडदार माग गरेको छ।
(जसपा) नेपाल बाँकेका अध्यक्ष कौशलकुमार धोबीले जानकारी दिएअनुसार यातायात कार्यालय स्थानान्तरण गर्ने निर्णय जनताको सहज पहुँचलाई असर पुर्याउने भएकाले हाम्रो पार्टीको यसमा ध्यानकर्षण भएको छ।” उनले स्थानान्तरण प्रक्रियाबारे विभिन्न माध्यमबाट जानकारी पाएको बताउँदै यस बिषयमा (जसपा) नेपाल बाँकेको गम्भीर चासो रहेको पनि जनाएका छन्।
यसै सन्दर्भमा भोलि, २८ गते, (जसपा) नेपाल बाँकेको ‘समाजवादी युवा संघ’ र ‘समाजवादी खेलकुद संघ’को अगुवाइमा नेपालगन्जको बीपी चोकबाट त्रिभुवन चौक हुँदै बाँके जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीमार्फत लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाउने तयारी गरिएको छ। यस कार्यक्रमको उद्देश्य नेपालगन्जबाट कार्यालय हटाउन नदिन प्रदेश सरकारलाई अनुरोध गर्नु रहेको (जसपा) नेपाल बाँकेका अध्यक्षले लिमरा खबरलाई जनाएका छन्।
ध्यानकर्षण पत्रमा स्थानान्तरणको असुविधा र प्रभावबारे विस्तृत व्याख्या गरिनेछ। यातायात कार्यालय जस्तो जनसरोकारको सेवा प्रदायक संस्था नेपालगन्जजस्तो सुविधाजनक स्थानबाट हटाउन खोजिएकोमा गम्भीर असहमति जनाएको छ। यो निर्णयले सर्वसाधारणलाई यात्रा अनुमतिपत्र, सवारी दर्ता तथा अन्य सेवाहरूमा सहजता र पहुँच गुम्न सक्ने भएकाले त्यसलाई पुनर्विचार गर्न आग्रह गरिएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेले नेपालगन्जलाई बाँकेको केन्द्र मान्दै विभिन्न सरकारी सेवाहरू त्यहीँ राख्नुपर्नेमा जोड दिएको छ। सर्वसाधारणको आवश्यकता र असुविधालाई ध्यानमा राखेर सम्बन्धित निकायलाई जनताको हितमा निर्णय लिन आग्रह गरेको छ।