नेपालगञ्ज कार्तिक २२ गते।
बाँके जिल्लाको नेपालगन्जमा आजदेखि वैकुण्ठधाम निर्माणको लागि “वैकुण्ठधाम आध्यात्मिक महोत्सव” सुरु भएको छ। वैकुण्ठधाम निर्माणको परिकल्पना गर्दै यस महोत्सवको मुख्य उद्देश्य धार्मिक, सामाजिक र सांस्कृतिक सद्भावलाई प्रबर्द्धन गर्नु हो। पं. दीनबन्धु पोखरेलको प्रमुख वाचनमा आयोजना भएको यस महोत्सवको उद्घाटन समारोह पं. पोखरेलले पानसमा दियो बालेर गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै पं. पोखरेलले जीवनको अन्तिम सत्य मृत्युलाई सहज र सम्मानजनक बनाउन वैकुण्ठधामको निर्माण आवश्यक भएको र यस अभियानमा सबैको सक्रिय सहभागिताको खाँचो रहेको बताए।
महोत्सवको पहिलो दिन रामलिला मैदानबाट सुरु भएको शोभा कलशयात्राले नगरका विभिन्न स्थानहरूको परिक्रमा गर्दै पुनः रामलिला मैदानमा सम्पन्न भएको थियो। झाँकी सहितको शोभा कलशयात्राले भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोझी, सेतु बिक चोक हुँदै त्रिभुवन चोक र रानी तलाउको परिक्रमा गरेको थियो। जात, भाषा, धर्म र सम्प्रदायको झल्को दिने विभिन्न झाँकीसहित हजारौं स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
यस आध्यात्मिक महोत्सवको आयोजना मुख्यतया धार्मिक र सांस्कृतिक गतिविधिहरूको माध्यमबाट समुदायमा सद्भाव, एकता र सहयोगको भावना अभिवृद्धि गर्न गरिएको हो। महोत्सव अवधिभर हरेक दिन बिहान ५ बजेदेखि ६:३० बजेसम्म योगा कार्यक्रम, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४:३० बजेसम्म संगीतसहित भागवत कथा प्रवचन, ४:३० बजे आरती र पुष्पाञ्जली, र साँझ ७:१५ देखि ९ बजेसम्म भजनकीर्तनसहित श्रीमद्भागवत महात्म्य वाचन गरिनेछ।
महोत्सव आयोजक मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी अनुसार, यस महोत्सवबाट संकलित रकम बाँकेको डुडुवा–५ सिधनियाघाटमा आधुनिक सुविधा सम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माणका लागि खर्च गरिनेछ। स्थानीय बासिन्दाहरूको साथ र सहयोगले यस योजनालाई सफल बनाउन ठूलो मद्दत पुग्ने विश्वास छ। पं. पोखरेलले बाँकेका सबै स्थानीय निकाय र छिमेकी बर्दियाका बासिन्दाहरूले पनि यस अभियानमा सहभागिता जनाउने अपेक्षा राखेका छन्।
वैकुण्ठधामको निर्माणले स्थानीय स्तरमा मात्र नभएर पश्चिम नेपालमै एक नयाँ पहिचान दिलाउने विश्वास गरिएको छ। धार्मिक र सांस्कृतिक महत्वका यी स्थानहरूले पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा पनि टेवा पुर्याउनेछन्। यस अभियानमा धार्मिक, सामाजिक, र सामुदायिक चेतना फैलाउँदै सबैको साथ र सहभागिता सुनिश्चित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेछ।