नेपालगञ्ज कार्तिक २२ गते।
बाँके जिल्लाको पचपोखरा गाउँबाट ३२ कार्टुन टायल बरामद गरिएको घटनाले विभिन्न प्रश्नहरू उठाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको घुमुवा आतिश खानको टोलीले असोज २९ गते सो टायल बरामद गरेको थियो। स्थानीयवासीका अनुसार कल्लु भनेर चिनिने कलामुद्दिन कबडिया र उनका दाजु जाबिर कबडियाले आफ्नै घरमा लगाउनका लागि कानपुरबाट टायल ल्याएका थिए।
लिमरा खबरले यस घटनाबारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक आयुश प्रसाद जोशीसँग तिहार अगावे जानकारी लिन प्रयास गरेको थियो। फोनमा प्रवक्ता जोशीले यस विषयमा बुझेर जानकारी दिने आश्वासन दिएका थिए। तर, अहिलेसम्म उनको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। लिमरा खबरले फेरि सम्पर्क गर्न खोज्दा प्रवक्ता प्रहरी नायब उपरीक्षक जोशीले फोन उठाएनन्, जसले यो विषयलाई थप जटिल बनाएको छ।
सिभिल घुमुवा टोलीका इन्चार्ज आतिस खानले भनेका अनुसार बरामद टायललाई प्रहरीको गाडीमार्फत जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको थियो, र त्यसपछि नेपालगञ्ज भन्सार कार्यालय पठाउने जिम्मा बाँके प्रहरी कार्यालयको थियो। आतिस खानको भनाइ अनुसार, उक्त टायल नेपालगञ्ज भन्सारमा पठाइएको जानकारी चाहिँ उनीसँग छैन। उनका भनाइका प्रमाण लिमरा खबरसँग सुरक्षित रहेको छ। यसले प्रहरी टोली र भन्सार कार्यालयबीचको सम्पर्क र समन्वयमा शंका उत्पन्न गराएको छ।
त्यसैगरी, घटनामा मुछिएका स्थानीय कल्लु कबडियाले आफ्नो पक्षमा गम्भीर गुनासो गरेका छन्। उनका अनुसार कानपुरबाट ल्याइएको टायल आफ्नो घरमा लगाउनका लागि ल्याइएको थियो। तर, प्रहरी घुमवाटोलीले अरू व्यक्तिको कुरामा लागेर सोही टायल उनको घरबाट जबरजस्ती उठाएर लगेको आरोप लगाएका छन्। कल्लुका दाजु जाबिर कबडियाले पनि यस्तै आरोप लगाएका छन्। जाबिरले घुमुवा टोलीका इन्चार्ज आतिस खान र अन्य प्रहरीकर्मीको मिलोमतोमा उक्त टायल हराएको आरोप लगाएका छन्।
यस घटनाले स्थानीयवासीलाई असन्तुष्ट बनाएको छ। उनीहरूले प्रहरीमाथि शंका प्रकट गर्दै भनेका छन् कि उक्त टायल आफ्नो घरको लागि ल्याइएको भए पनि प्रहरीले अरूको कुरामा लागेर आफ्नो स्वामित्वको सामान उठाएर लगेको हो। स्थानीयवासीका अनुसार यस घटनाले प्रहरीप्रतिको विश्वासमा समेत गम्भीर असर परेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) तुलबहादुर कार्कीको निर्देशनमा खटिएका घुमुवा टोलीका सदस्यहरूको भूमिकामाथी प्रश्न चिन्ह लागेको छ। प्रहरीको काम जनताको सुरक्षा र न्याय कायम गर्नु हो भने पनि, यस घटनाले उनीहरूको निष्पक्षता र पारदर्शितामाथी गम्भीर प्रश्न खडा गरेको छ। स्थानीय कल्लु कबडियाले यो विषयमा सम्बंधित निकायमा थप छानबिन गरिनुपर्ने माग समेत गरेका छन्।
यो घटनाले प्रहरी र भन्सार कार्यालयबीचको समन्वयलाई लिएर पनि विभिन्न शंकाहरू जन्माएको छ। घुमुवा टोलीको क्रियाकलाप र स्थानीयको गुनासोलाई ध्यानमा राखेर घटनाको निष्पक्ष अनुसन्धान गर्न पचपोखरावासीले आग्रह गरेका छन्। स्थानीयवासीका अनुसार, यदि निष्पक्ष छानबिन भएमा सच्चाई बाहिर आउने र उनीहरूले न्याय पाउने विश्वास गरेका छन्।