बाँके कार्तिक १२ गते।
काठमाडौं प्रहरी परिसरले हालै दुई जना प्रहरीलाई करिब चार ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको घटना चर्चामा आएको छ। यो घटनालाई गुपचुप राखिएको जानकारी सार्वजनिक भएपछि अनुसन्धान र यसका पछाडि रहेको कारणबारे चासो बढेको छ। प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरु जिप्रका दाङमा दरबन्दी भइ हाल प्रहरी निरीक्षणालय काठमाडौंमा खटिएका कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत रमेश खटिक हुन्।
प्रहरीका सहायक हवल्दार रहेको उनीहरूलाई कात्तिक १० गते काठमाडौं प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको थियो। खटिकलाई ब्राउन सुगर बेचिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको र उनले बयानमा ब्राउन सुगर बेच्न कलिमले लगाएको बताएका छन्। सोही बयानको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले कलिमलाई समेत पक्राउ गरेको हो। हाल दुवैजना काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् र उनीहरूको मोबाइल फोन समेत जफत गरेर थप अनुसन्धान थालिएको छ।
यसो भए पनि यो घटनालाई गुपचुप राख्न खोजिएको विषयले धेरैलाई चासो बढाएको छ। एक प्रहरी अधिकारीले जानकारी दिए अनुसार पक्राउ परेको घटनालाई अनुसन्धान प्रभावित नहोस् भनेर गोप्य राखिएको हुन सक्छ। “उनीहरूलाई पक्राउ गरेर काठमाडौं परिसरमा राखिएको छ। कसैको दबाबमा घटना गोप्य राखिएको हो वा अनुसन्धान प्रभावित नहोस् भनेर हो त्यो भने थाहा भएन,” उक्त अधिकारीले भने।
काठमाडौं परिसरका प्रमुख एसएसपी बसन्त रजौरेले लागु औषधसहित केही व्यक्तिलाई पक्राउ गरेको स्वीकारे। तर, अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेका व्यक्तिहरु प्रहरी हुन् वा सर्वसाधारण भन्ने खुलाउन नमिल्ने उनले बताए। “हामीले ब्राउन सुगरसहित मान्छे पक्राउ गरेका छौँ। थप अनुसन्धान गर्नुपर्ने भएकाले सार्वजनिक नगरिएको हो,” एसएसपी रजौरेले नेपाल प्रेससँग भने।
यो घटनामा संलग्न प्रहरी सहायक हवल्दार बेहना प्रहरी निरीक्षणालयका एसपी प्रकाश मल्लसँग निकट मानिन्छन्। मल्ल र बेहनाबीचको सम्बन्ध गहिरो रहेको र उनीहरूले विगतदेखि सँगै काम गरिरहेको प्रहरी स्रोतले जनाएको छ। एसपी मल्लले आफ्नो कार्यकालमा बेहनालाई विभिन्न ठाउँमा सादा पोशाकमा खटाएका थिए। यस्तै समयमा बेहनाले भारतबाट ठूलो मात्रामा ब्राउन सुगर काठमाडौं ल्याएको सूचना प्राप्त भएपछि उनी प्रहरीको निगरानीमा परेका थिए।
हाल उनीहरूलाई नियन्त्रणमा लिँदा चार ग्राम मात्र ब्राउन सुगर फेला परे पनि थप अनुसन्धानपछि धेरै परिमाणमा लागु औषध समातिने अनुमान गरिएको छ। मल्ललाई अनुसन्धान क्षेत्रमा अब्बल अधिकारी मानिन्छ र उनको निकट रहेका कारण बेहनाले अवैध कार्य गर्न साहस गरेको प्रहरी स्रोतको भनाइ छ।
बेहना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ लग्दाहवा र खटिक जानकी गाउँपालिका वडा नम्बर २ बकोटिया दुवैको स्थायी घर बाँके जिल्लामा रहेको हो। बेहना लामो समयसम्म पूर्व क्षेत्रीय प्रहरी कार्यालय तथा पछिल्लो समय लुम्बिनी प्रदेश प्रहरी कार्यालयको मातहतमा घुमुवा प्रहरीका रूपमा कार्यरत थिए। यसअघि पनि उनी दाङस्थित तुलसीपुर ईलाका प्रहरी कार्यालयमा समेत घुमुवा रहेका थिए।
बेहेना र खटिकको पारिवारिक पृष्ठभूमि हेर्ने हो भने, बेहेनाको घर करोडौँ लागतमा बनेको छ, भने खटिकको घर बकोटिया गाउँमा दुईतल्ले घर रहेको छ। स्थानीय स्रोतका अनुसार, यी दुवैजना नेपाल प्रहरीको तल्लो दर्जामा रहेका छन्। तर, यिनीहरूको पासमा करोडौँको सम्पत्ति छ। यत्रो धन कहाँबाट आयो भन्ने प्रश्न उठेको छ। कोहलपुर र नेपालगञ्जमा पनि यिनीहरूले करोडौँ घरेडी खरिद गरेका छन् भन्ने कुरा खुलेको छ।
यो घटनाले नेपाल प्रहरीको आन्तरिक शुद्धीकरणमा प्रश्न उठाएको छ। प्रहरी संगठनभित्रका कतिपय व्यक्तिहरू लागु औषधको कारोबारमा संलग्न रहेको भन्ने जनगुनासोहरू यस घटनाले सत्य सावित गर्न सक्ने देखिएको छ। यो घटनापछि प्रहरीले आफ्ना कर्मचारीहरूलाई लागु औषध दुव्र्यसनबाट जोगाउन थप प्रभावकारी योजना बनाउने आवश्यक भएको छ।
अन्त्यमा, यो घटना काठमाडौं प्रहरी परिसरका लागि चुनौतीपूर्ण बनिरहेको छ। आफ्नै संगठनभित्रका सदस्यहरूले गलत कार्यमा संलग्न हुँदा यसले प्रहरीको विश्वसनीयतामा प्रश्न उठाइदिएको छ। यसै घटनाले प्रहरी प्रशासनले आफ्नो आन्तरिक छानबिनलाई थप कडा बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।