नेपालगञ्ज कार्तिक २ गते।
जानकी गाउँपालिका वडा नम्बर १ मा नेपाल-भारत सीमामा हुने आपराधिक गतिविधिको नियन्त्रण तथा सीमा व्यवस्थापनलाई सहजीकरण गर्न सीमा सहजीकरण समिति गठन गरिएको छ। यो समिति नेपाल-भारत सीमा क्षेत्रमा अपराध, सीमा स्तम्भहरूको अवस्था, र विपद्जन्य प्रकोपका समयमा सहयोगको लागि विशेष रूपमा कार्य गर्नेछ।
जानकी -१ का वडाध्यक्ष मोहम्मद रजा राईले शुक्रवार आयोजित एक बैठकमा उक्त समिति गठन गरिएको जानकारी दिएका छन्। समितिमा ११ जना सदस्य छन्, जसको संयोजकत्व जानकी -१ का वडाध्यक्ष राईले लिएका छन्। समितिको प्रमुख उद्देश्य भनेको सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू, तस्करी, तथा अन्य अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्न सहयोग पुर्याउनु हो।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटरको कार्यक्रमअनुसार सीमा सुरक्षा मजबुत बनाउने उद्देश्यले यो समिति गठन गरिएको थियो। यसै क्रममा, सशस्त्र प्रहरी बल नेपाल बढैया बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कमल केसीले सीमा क्षेत्रमा सुरक्षाको अवस्था सुधार्नका लागि आवश्यक उपायहरू अपनाउने प्रतिबद्धता जनाए।
बैठकमा जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रतिनिधिहरू, पत्रकार,शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।यो समिति सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिहरू नियन्त्रण गर्नका साथै विपद् वा अन्य आपत्कालीन परिस्थितिमा सहयोग पुर्याउन तत्पर रहनेछ। सीमा स्तम्भहरूको संरक्षण, सीमा क्षेत्रको निगरानी, र आपसी सहयोगको सुदृढिकरणका लागि पनि यो समिति सक्रिय रूपमा काम गर्नेछ।
सीमा क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण गर्ने लक्ष्यका साथ गठन गरिएको यो समिति भविष्यमा स्थानीय बासिन्दा र सुरक्षा निकायहरूबीच सहकार्यलाई मजबुत बनाउँदै सीमा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।