बांके असोज १७ गते।
डुडुवा गाउँपालिका वडा नम्बर २ मा बाढी प्रभावित परिवारहरूलाई युएई रेड क्रिसेन्टले राहत वितरण गरेको छ। राहत वितरण कार्यक्रम जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष तथा डुडुवा वडा नम्बर २ का वडा अध्यक्ष दुर्गाप्रसाद बर्माको अध्यक्षतामा राहत वितरण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको आयोजना काठमाडौँस्थित संयुक्त अरब इमिरेट्स (युएई) को दूतावासको समन्वय र नेपाल सरकारका सम्बन्धित निकायहरूको आवश्यक सहयोगमा गरिएको थियो।
सो अवसरमा बाढीबाट प्रभावित १३० घरपरिवारलाई राहत वितरण गरिएको जानकारी वडा अध्यक्ष दुर्गाप्रसाद बर्माले लिमरा खबरलाई दिएका छन्। युएई रेड क्रिसेन्टले बर्दिया र बाँके जिल्लाका विभिन्न गाउँहरूमा बाढीबाट पिडित परिवारहरूलाई आवश्यकता अनुसार खाद्यान्न तथा अन्य सामग्री ३ सय जनालाई वितरण गरिएको छ।
स्थानीय जनताले जलवायु परिवर्तनका कारण बारम्बार विपतको सामना गर्दै आएकोले यस्ता राहत कार्यक्रमहरूले स्थानीयवासीलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डुडुवा २ का स्थानीयवासीलाई युएई सरकारले समयसमयमा विपतका बेलामा निरन्तर रूपमा सहयोग प्रदान गर्दै आएको छ। जलवायु परिवर्तन र मौसमको उतार-चढावका कारण डुडुवा गाउँपालिकामा बारम्बार बाढी जस्ता प्रकोपले जनतालाई समस्यामा पार्दै आएको छ। यसपटक पनि बाढीबाट पीडित स्थानीयलाई युएई रेड क्रिसेन्टको तर्फबाट राहत वितरण गरिएको हो।
समाजसेवी इरफान सिद्दिकीका अनुसार यो राहत वितरण कार्यक्रमको पहिलो चरण मात्र हो। आगामी दिनहरूमा यस्ता विपत्तिमा परेका परिवारलाई थप राहत र सहयोग उपलब्ध गराउने योजना रहेको उनले बताए।
यसरी निरन्तर रूपमा युएई सरकार र सम्बन्धित निकायहरूले देखाएको सहानुभूति तथा सहयोग दुई देशबीचको मित्रताको प्रमाण भएको उल्लेख गरिएको छ। यो राहत कार्यक्रमले बाढी प्रभावित स्थानीय परिवारहरूलाई पुनःस्थापित गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।