बाँके भाद्र १० गते ।
जानकी गाउँपालिका वडा नम्बर २ मा अवस्थित माध्यमिक विद्यालय जोगागाउँले एसईई २०८० मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रममा सम्मान गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब हलवाईको अध्यक्षतामा विद्यालयको सभाहालमा आयोजित कार्यक्रममा प्रधानाध्यापक जीतबहादुर वर्माले विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि यो प्रोत्साहनात्मक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।
प्रधानाध्यापक वर्माले विद्यार्थीहरूलाई शिक्षा, ज्ञान, र सिप आर्जनतर्फ लाग्न प्रेरित गर्दै भोलिका दिनमा विद्यालयले शैक्षिक सुधारका थप योजना ल्याउने जानकारी दिनुभयो। उहाँले यो सम्मान कार्यक्रममा सहभागी सबै विद्यार्थीहरूलाई शुभकामना दिँदै उज्ज्वल भविष्यको कामना गर्नुभयो।
उहाँले विद्यालयले आफ्नो शैक्षिक मापदण्डलाई सुधार गर्दै गुणस्तर अभिवृद्धिमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब हलवाईले विद्यालयको नतिजा सुधार्न शिक्षक, विद्यार्थी र अभिभावकहरूको समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षकहरूको मेहनत, अभिभावकहरूको लगानी, र विद्यार्थीहरूको अनुशासन र निरन्तर प्रयासले मात्रै विद्यालयको शैक्षिक स्तर सुधार्न सकिने धारणा राख्नुभयो। उत्कृष्ट नतिजा ल्याउने सबै विद्यार्थीहरूलाई उहाँले बधाई दिंदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि प्रेरणा दिनुभयो।
कार्यक्रममा कक्षा १० मा ग्रेड वृद्धि परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मानस्वरूप खादा ओढाई सम्मान गरियो। यो सम्मान समारोहमा प्रधानाध्यापक जीतबहादुर वर्मा, शिक्षकहरू निरज मिश्रा, कृष्ण आचार्य, सकील अहमद राई, शिक्षिका मनिषा भण्डारी, पूर्व प्रधानाध्यापक आलमिन राई, र विद्यालय व्यवस्थापन समितिका सदस्यहरू लगायत विद्यालय परिवारको उपस्थिति रहेको थियो।
यस अवसरमा प्रशिक्षक सकिल अहमद राईले उत्तीर्ण विद्यार्थीहरूलाई क्यारियर काउन्सिल परामर्श कार्यक्रम सञ्चालन गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई भविष्यमा के कस्ता अवसरहरू छन् भन्ने बारे जानकारी दिँदै शिक्षा क्षेत्रको महत्त्वबारे सचेत गराउनुभयो।
पूर्व प्रधानाध्यापक आलमिन राईले यस वर्षको नतिजामा तुलनात्मक रूपमा केही सुधार देखिए तापनि अझै सन्तोषजनक अवस्था नरहेको बताउँदै भविष्यमा अझ सशक्त प्रयास आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले आगामी परीक्षाहरूमा सबै सरोकारवालाहरूले अझै बढी जिम्मेवारीपूर्वक काम गरेमा नतिजाहरूमा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गर्नुभयो।
यस सम्मान कार्यक्रममा अभिभावक, समाजसेवी, राजनीतिक दलका नेता, र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण आचार्यले गर्नुभएको थियो।