रुपैडिहा, बहराइच भाद्र ८ गते ।
प्रहरी अधीक्षक वृन्दा शुक्लाको नेतृत्वमा अपराध नियन्त्रण र अपराधीहरूको पक्राउका साथै लागुऔषध तस्करीलाई रोकथाम गर्न चलाइएको विशेष अभियानको क्रममा ठूलो सफलता हात परेको छ। उक्त अभियानमा प्रहरी उपरीक्षक (ग्रामीण) डा. पवित्र मोहन त्रिपाठी र क्षेत्राधिकारी नानपारा प्रद्युम्न सिंहको निर्देशनमा रुपैडिहा थाना इन्चार्ज शमशेर बहादुर सिंहको नेतृत्वमा गठन गरिएको प्रहरी टोलीले ५ किलो अवैध चरेससहित एक अभियुक्ता नेपाली महिलालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूसँगको संयुक्त जाँच अभियानको क्रममा भाद्र ७ गतेको साँझ ६:१५ बजे रुपैडिहा बजार क्षेत्रमा सो गिरफ्तारी गरेको हो। पक्राउ परेकी अभियुक्ता महिलाको नाम रेखा बुढा हो, रुकुम जिल्लाको काक्री गाउँपालिका निवासी दिल बहादुर बुढाकी छोरी हुन्। अभियुक्ताको उमेर करिब ३५ वर्ष रहेको बताइएको छ।
जाँचको क्रममा अभियुक्ता रेखा बुढाले शरीरमा लुकाएर राखेको अवस्थामा ५ किलो अवैध चरेस फेला परेको थियो। उक्त चरेसको बजार मूल्य करिब १ करोड ५० लाख रुपैयाँ आँकलन गरिएको छ। यो कारबाहीपछि अभियुक्तामाथि लागुऔषध नियन्त्रण ऐन (NDPS) अन्तर्गत धारा ८/२० को मुद्दा दर्ता गरिएको छ। मुद्दा दर्ता भएको केस नम्बर ०४२८/२०२४ रहेको छ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अभियुक्ता रेखा बुढालाई बहराइच जिल्ला अदालतमा पेशीका लागि पठाएको छ। यो गिरफ्तारीसँगै स्थानीय प्रहरीले लागुऔषध तस्करी विरुद्धको आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ। भारतीय प्रहरी अनुसार, रुपैडिहा सीमा क्षेत्रमा लागुऔषधको तस्करी रोक्नका लागि यस्तो प्रकारका जाँच अभियानहरू नियमित रूपमा जारी राखिनेछ।
साथै, रुपैडिहा सीमा क्षेत्रमा सक्रिय रहेका अन्य आपराधिक गिरोहलाई पनि निगरानीमा राखिएको छ। यस अभियानको सफलताले अपराध नियन्त्रणको प्रयासमा थप उर्जा मिलेको र आगामी दिनमा यस्ता अपरेसनलाई अझ कडा रूपमा अगाडि बढाइने भारतीय प्रहरीले जानकारी दिएको छ।