मंसूर अली इद्रिशी
बाँके भाद्र ३१ गते-जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व मोहम्मद ,डे, को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। सोमबार एक शुभकामना सन्देशमार्फत् पूर्वमन्त्री राईले मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूलाई मोहम्मद डे को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिनुभएको हो। उहाँले मोहम्मद डे लाई धार्मिक सहिष्णुता, सामाजिक–सांस्कृतिक सद्भाव तथा राष्ट्रिय एकताको प्रतीकको रूपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ।
मोहम्मद ,डे, इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मदिनको सम्झनामा मनाइने महत्त्वपूर्ण पर्व हो। मुस्लिम समुदायले यो दिनलाई सद्भाव, सहकार्य, विश्वास र साझा उद्देश्य प्राप्तिको अवसरको रूपमा मनाउने गर्छन्। यस अवसरमा उहाँले सबैमा त्याग, समर्पण, सहयोग र एकताको भावना पैदा गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
पूर्वमन्त्री राईले नेपालको सांस्कृतिक विविधताको महत्वलाई पनि चर्चा गर्दै भन्नुभयो, “नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्र हो। हाम्रो संविधानले सबै धर्म, जातजाति, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ। हरेक समुदायले आ–आफ्ना संस्कृति र परम्परालाई सम्मानपूर्वक पालना गर्न पाउँछन्।” यस अवसरमा उहाँले सबै नेपालीलाई एक आपसमा सद्भाव, सहिष्णुता र सहकार्यको भावना बढाउन आह्वान गर्नुभएको छ।
राईले नेपालको विविधता भनेको हाम्रो राष्ट्रिय पहिचान र गर्वको विषय भएको उल्लेख गर्दै विविध जाति, धर्म र समुदायबीचको आपसी सम्मान र सहयोगले नै राष्ट्रिय एकताको जग बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। “विभिन्न जातजाति, धर्म र समुदायको आ-आफ्नै संस्कार, परम्परा र चाडपर्वहरुले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्। यी चाडपर्वहरू मनाउनु भनेको हामी सबै नेपालीको साझा सम्पत्ति हो र सबैको सम्मान गर्न जान्नु नेपाली समाजको विशेषता हो,” उहाँले बताउनुभयो।
उहाँले मोहम्मद डे जस्ता पर्वहरुले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई मजबुत पार्ने, तथा राष्ट्रिय एकतालाई सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ। यस अवसरले नेपाली समाजमा आपसी मेलमिलाप र सहकार्यको भावना प्रवर्द्धन गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।
अन्तमा, पूर्वमन्त्री राईले सम्पूर्ण मुस्लिम समुदायलाई मोहम्मद डे को पावन अवसरमा सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दै नेपालमा आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक एकता झनै बलियो बनोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ। धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको नेपाललाई सबै धर्म र समुदायबीचको आपसी सम्मान र सहकार्यले नै शान्त, समृद्ध र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको धारणा छ।