मंसूर अली इद्रिशी
नेपालगञ्ज भाद्र ३० गते- परसपुरमा यस वर्षको १४९९ औं मोहम्मद डे (यौमे बिलादत) हर्षोल्लासका साथ मनाउन सम्पूर्ण तयारी पूरा भएको छ। नेपालगञ्ज नजिकै रहेको परसपुरको मुस्लिम समुदायले इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको जन्मोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। पैगम्बर मोहम्मदलाई अल्लाहको दूतको रूपमा मान्दै आएका मुस्लिम समुदायले यो पवित्र दिनलाई विशेष श्रद्धा र उत्साहका साथ मनाउने परम्परा छ।
यस अवसरमा भाद्र ३० गते परसपुरको सहादत मस्जिदमा विशेष जागरण कार्यक्रम आयोजना हुँदैछ। यस कार्यक्रममा मुस्लिम धर्मका धार्मिक (नाअत शरिफ) वाचन गरिनेछ र पैगम्बर मोहम्मदको जीवनी तथा उपदेशमाथि प्रवचन दिइनेछ। उक्त जागरण कार्यक्रमले धार्मिक र सामाजिक एकता तथा सहिष्णुताको सन्देश फैलाउने उद्देश्य राखेको छ।
सहादत मस्जिदका अध्यक्ष कौसर अली बेहनाले दिएको जानकारी अनुसार भोली विहान ¥यालीको आयोजना हुनेछ। यो ¥याली परसपुरदेखि नेपालगञ्ज बजारसम्मको परिक्रमा गर्ने योजना बनाइएको छ। ¥याली विहान ७ बजे सुरु हुनेछ, जसमा परसपुरका साथै अन्य क्षेत्रका मुस्लिम समुदायका सदस्यहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ। यस पटक ¥यालीमा ३ हजार भन्दा बढी मुस्लिम समुदायका मानिसहरुको सहभागिता हुने अनुमान गरिएको छ। ¥यालीका क्रममा सहभागीहरूले पैगम्बर मोहम्मदप्रतिको श्रद्धा र आदर व्यक्त गर्दै “सरकार की आमद मरहबा”, “रसुल की आमद मरहबा” लगायतका धार्मिक नारा लगाउनेछन्।
हिजरी संवतको रब्बिउल औवल महिनाको १२ तारिखमा हजरत मोहम्मदको जन्म साउदी अरबको मक्का शहरमा भएको थियो। विश्वभरका मुस्लिम समुदायले उक्त दिनलाई ईद मिलादुन नवी अर्थात् पैगम्बर मोहम्मदको जन्मोत्सवका रूपमा मनाउँछन्। यस दिनमा विशेष धार्मिक कार्यक्रमहरूको आयोजना गरिन्छ, जसमा मोहम्मदको शिक्षाको स्मरण गरिन्छ र इस्लामको शान्तिपूर्ण सन्देश प्रचार गरिन्छ।
परसपुरमा यस वर्षको ¥यालीलाई विशेष महत्त्वका साथ सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको छ। यस उत्सवको अवसरमा स्थानीय मुस्लिम अगुवाहरूले समाजमा शान्ति, प्रेम, सहिष्णुता, र भाइचाराको सन्देश फैलाउन जोड दिएका छन्। साथै, नेपाल सरकारले पनि यो पावन दिनको अवसरमा सार्वजनिक बिदा दिएको छ, जसले सम्पूर्ण देशभरका मुस्लिम समुदायलाई आफ्नो धार्मिक पर्व मनाउन थप सहजता प्रदान गरेको छ।