नयाँ दिल्ली भाद्र ४ गते।
हाल भारतको आधिकारिक भ्रमणमा रहेकी नेपाली परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटका क्रममा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन्। छलफलमा नेपाल र भारतबीचका विभिन्न आपसी हितका विषयहरूमा सहकार्यलाई अझ सुदृढ बनाउने कुराहरू पनि भएको थियो।
भेटपछि परराष्ट्रमन्त्री देउवाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “नेपालको परराष्ट्रमन्त्रीका रूपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा मैले गरेकी छु।”
भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अन्य अधिकारीहरू सहभागी थिए, भने नेपालको तर्फबाट दूतावासका अधिकारीहरू उपस्थित थिए।
सोमबार, परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन्। दुई देशका विदेशमन्त्रीहरूको भेटमा द्विपक्षीय पहल र विकास परियोजनाहरूको प्रगतिको समीक्षा गर्नुका साथै थप सहयोग विस्तार गर्नेबारे छलफल भएको थियो। अधिकारीहरूले जानकारी दिए अनुसार भेटमा उर्जा क्षेत्रको सहकार्य विस्तारबारे पनि कुराकानी भएको थियो।