नेपालगन्ज, पुस १८ गते।
कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिनु भएको जानकारी अनुसार सामाजिक सुरक्षा परियोजना अन्तर्गत गरिबी र आर्थिक विपन्नताका कारण शिक्षाको पहुँचबाट बन्चित अनाथ बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिंदै आएको बताउनुभयो ।
उहाँले यो कार्यक्रम प्रायोजन कार्यक्रम रहेको जनाउँदै गत पाँच वर्षबाट सञ्चालनमा रहेको र हाल सो परियोजनाबाट बाँकेका विभिन्न विद्यिालयमा अध्ययनरत १६९ अनाथ बालबालिकाले सो प्रायोजन शैक्षिक सहयोग पाईरहेको बताउनुभयो । प्रायोजन सहयोग पाउनेहरुमा १०० जना बालक र ६९ जना बालिका रहेको र उनिहरु सामुदायीक, निजि र मदरसा लगायतका विभिन्न विद्यालयमा अध्ययन गरिरहेको अध्यक्ष तुलाधरले बताउनुभयो ।
ती अनाथ बालबालिकाको शिक्षामा निरन्तरता र अन्य आवश्यक आधारभूत आवश्यकताहरू पुरा गराउन उनिहरुलाई मासिक ६ हजार रुपियाँका दरले सहयोग गर्दै आएको बाँके युनेस्को क्लबले जनाएको छ । सो रकमबाट ती बालबालिकाले विद्यालयको पढाई शुल्क तिर्नुका साथै अन्य शैक्षिक सामाग्री खरिद लगायत अन्य आवश्यकताहरु पुरा गर्दै आएको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत गुलाम गौसले बताउनुभयो।
उहाँले सो परियोजना अन्तर्गत सहयोग पाउने बालबालिकाको पढाइमा भएको सुधार, समस्या र चुनौतीको मूल्याङ्कन गरेर प्रगति प्रतिवेदनका बारेमा जानकारी लिई सुधारका लागि सुझाव दिन विद्यालयका शिक्षक, सामाजिक परिचालक र बालबालिकाका आफन्तसंग बारम्बार भेटघाट र छलफल गर्ने कार्य भइरहेको बताउनुभयो । यो सहयोगले अनाथ बालबालिकाको पढाईमा ठुलो मद्दत मिलिरहेको ती बालबालिकाका आफन्तले जनाएका छन् ।