काठमाडौं कार्तिक १५ गते ।
जघन्य अपराधका दोषीलाई गरिएको कैद माफी खारेज गर्न माग गर्दै भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । हिजो बहस नसकिएपछि आजलाई निरन्तर सुनुवाइ राखिएको हो । सर्वोच्चका कायममुकाय प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा सुनुवाइ सुरु भएको हो । हिजो रिट निवेदकका तर्फबाट कानुन व्यवसायी तेजबहादुर कटुवाल, बालकृष्ण न्यौपानेलगायतले बहस गरेका थिए । यस्तै महान्यायाधिवक्ता दीनमणि पोखरेलको जवाफी बहस गरेका थिए । तर, बहस नसकिएकाले आज पनि निरन्तर सुनुवाइ गर्न लागिएको हो ।
रिटमा असोज २५ गते प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासले आधा दिन सुनुवाइ गरेर हेर्न नमिल्ने भन्दै हिजोका लागि पेसी तोकेको थियो । आफ्ना पतिको हत्याका दोषी योगराज ढकाल (रिगल) लाई राष्ट्रपतिले कैद मिनाहा गरेको भन्दै मृतक चेतन मानन्धरकी पूर्वश्रीमती भारती शेर्पाले रिट दायर गरेकी थिइन् ।
उक्त रिटमा गत असोज १९ मा मनोज शर्माको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर शीघ्र टुंगो लगाउन आदेश दिएको थियो। तर असोज २५ मा प्रधानन्यायाधीश श्रेष्ठसहितको इजलासले यस्तै प्रकृतिको मुद्दामा पहिले आदेश र फैसला गरिसकेकाले हेर्न नमिलेको भन्दै दसैं बिदालगत्तै पेसी तोकी निरन्तर सुनुवाइ गर्ने आदेश गरेको थियो ।
जघन्य अपराध गरेकालाई राजनीतिक संलग्नताका आधारमा कैदमाफी दिने प्रवृत्तिले न्याय प्रणाली नै नरहने भन्दै राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाजलगायतले रिगलको कैद मिनाहाको विरोध गरेका थिए । रिगलले २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।