नेपालगञ्ज कार्तिक १ गते ।
हिन्दु नेपालीहरुको महान चाड बडादशैं भित्रिसकेको छ । नेपालगञ्जमा पनि दशैंको रौनक छाएको छ । दुर्गा मन्दिरहरुमा मात्र नभएर चोकचोकमा दुर्गाका मूर्तीहरु स्थापना गरेर पुजाआजा गर्ने प्रचलन वर्षौंदेखि चल्दै आइरहेको छ । बाँके जिल्लाका प्रत्येक गाउँ टोलहरुमा दशैंको अवसरमा आकर्षक सजावटयुक्त पाण्डाल स्थापना गरेर देवी दुर्गाको पूजा-अर्चना गर्ने प्रचलन छ।
बडा दशैंमा कारीगढहरुबाट माटाका मूर्तीहरु बनाएर अस्थायी पण्डालमा राखेर पुजा गर्ने प्रचलन धेरै पुरानो रहेको पाइएको छ । मूर्ति बनाउने कारीगढदेखि पण्डाल सजाउने कालीगढहरु छिमेकी भारतबाट समेत आउने गरेका छन् । दशैँ आउनुभन्दा केही महिना अघिदेखि नै माटोको मूर्ति बनाउने कालिगढहरुलाई भ्याइनभ्याइ छ ।
प्रायः पण्डालहरुमा देवी दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरूपहरु राखिएका छन् । यो प्रचलन बाँके जिल्लामा संस्कृतिको अभिन्न अङ्गको रुपमा रहिरहेको छ । यतिबेला दुर्गा पूजाको लागि बनाएका पण्डालहरु दुलहीझैं सिंगारिएका छन् । दशैको पहिलो दिन घटस्थापनाको अवसरमा दुर्गा पुजाको शुभारम्भ भएको मानिन्छ ।
दुर्गा पुजाको लागि यहाँका बासिन्दाले आफ्नो गच्छे अनुसार आर्थिक संकलन गरी पण्डालहरु निमार्ण गर्ने गरेका छन् । घटस्थापनाका दिन स्थापना गरिएका देवीका मूर्तिहरुमा बाँधिएको आँखाका पट्टी खोलेर फुलपातीका दिन धुमधामका साथ पूजा अर्चना गर्ने गरिन्छ ।
दुर्गा भगवतीको पूजा हुने पण्डालहरुमा बिहानदेखि रातीसम्म दुर्गा स्तुती, भजन किर्तन, नाचगान, झाँकीहरुको प्रदर्शन गरिएका छन् । यसरी तयार पारिएका मुर्तिहरु विजयादशमीको भोलिपल्ट नगर परिक्रमा गराएर बाँकेको राप्ती नदीमा सेलाउने गरिन्छ । केहि वर्ष पहिलासम्म सहरी क्षेत्रमा मात्रदेखि दुर्गा पूजाका भव्य पण्डालहरु अहिले ग्रामीण क्षेत्रहरुमा पनि देखिन थालेका छन् । पुराना पुस्ताले सुरु गरेको यो परम्परा नयाँ पुस्ताले पनि उत्तिकै महत्व दिएर जोगाइ राखेका छन् ।