नेपालगन्ज असोज २९ गते।
भारतको रुपैडिहाबाट भन्सार छलेर दैलेख लैजाँदै गरेको एक ट्रक चिनी सुर्खेतको सुब्बाकुनास्थित प्रहरी चेक पोस्टले नियन्त्रणमा लिएको छ । प्रहरीले ५० किलोका २६ बोरा र २५ किलोका २४ बोरा गरी ५० बोरा चिनी सुर्खेतको सुब्बाकुनामा नियन्त्रणमा लिएको हो । प्रहरीले भे.१ख ३१४४ नम्बरको ट्रक जाँच गर्दा भन्सार छलेर ल्याएको चिनी फेला परेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले ट्रक पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए । भन्सार विभागले भारतबाट एक सय रुपैयाँ बढीको सामानको भन्सार असुल गर्ने नीति लिएका बेला गृह प्रशासनका अधिकारी र भन्सार कर्मचारीकै मिलेमतोमा ट्रकबाटै चिनी तस्करी हुने गरेको आशंका छ ।
उक्त बरामद गरेको चिनीको मूल्य एक लाख पचास हजार भन्दा बढीको रहेको प्रहरीले बताए । बरामद गरिएको चिनीलाई भन्सार कार्यालयमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।