बाँके असोज १९ गते ।
नेपालगञ्ज उपमहानगरपालिकामा आज निजामती सेवाका कर्मचारीहरुले अत्यावश्यक सेवा बाहेक अन्य कामकाज ठप्प पार्ने गरी अनिश्चितकालीन पेन डाउन गरेका छन । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा केन्द्रिय संघर्ष समितिको दवावमुलक कार्यक्रमलाई लाई ऐक्यवद्धता जनाउदैँ पेन डाउन गरेका हुन ।
नेपालगञ्ज उपमहानगरपालिका सहित यस अन्र्तगत २३ वटै वडाहरुका कर्मचारीले आन्दोलन स्वरुप पेन डाउन गरेका हुन । उनीहरुले उपमहानगरपालिका भवनको प्राङगणमा विरोध अनुरुप धर्ना दिएका थिए ।नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबार विहान १० बजे कर्मचारीहरु जम्मा भएर सरकारलाई दवाव दिदैँ पेन डाउन गरेका कार्यक्रम संयोजक तेजेन्द्र रोकायले जानकारी दिए।
नेपाल सरकार मन्त्री परिषदको गत भदौ २१ गते बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरी संसदमा पेश गर्ने निणर्य भएको थियो । उक्त विधेयकमा स्थानीय कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयहरु अस्पष्टता रहेको देखिएको संघर्ष समितिले जनाएको छ ।
जस कारण काठमाण्डौं केन्द्रीय आन्दोलनका कार्यक्रम गर्ने कार्यतालिका रहेकोमा नेपालगञ्ज स्थानीय सङ्घर्ष समिति गठन भएको हो । केन्द्रीय समितिले घोषणा गरेको २० बुँदे माग अघि सारिएको हुँदा उक्त मागहरुलाई ऐक्यबद्धता जनाउदैँ नेपालगञ्ज उपमहानगरपालिका सहित यस अन्तर्गतका २३ वटै वडाका कर्मचारीहरुको सहभागी रहेको संयोजक रोकायले लिमरा खबरलाई जानकारी दिए ।
उनले जनताको सबैभन्दा नजिक रहेर काम गर्ने जनताको नजिकको सारथीका रुपमा रहेको स्थानीय सरकार र सो अन्तर्गत कार्यरत रहेका स्थानीय कर्मचारीहरुको हौसला बढाउनुपर्नेमा कार्मचारीहरुकै मानमर्दन हुनेगरी ऐन विहिनताको अवस्था सिर्जना भएको बताएका छन ।