मंसुर अली इद्रिशी
बाँके असोज १५ गते-जनता समाजबादी पार्टी बाँकेले केही व्यक्तिहरुले सामाजिक सदभाव विथोल्न खोजेको भन्दै त्यसमा सजग हुन सबैलाई अपील गरेको छ । जसपाले सोमबार प्रेस विज्ञप्ति मार्फ़त एक अर्काका धार्मिक आस्थाको सम्मान गर्ने नेपाली संस्कार भएको तर पछिल्ला दिनमा असहिष्णुता फैलाउने प्रयास भइरहेको बताएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव प्रगाढ बनाउन सम्पूर्ण जिल्लावासीमा अपिल गर्ने निर्णय गरेको छ । जसपा बाँके का.बा अध्यक्ष राजन राना मगरले एक नेपाल र सम्पूर्ण नेपाली एक भएर देशमा शान्ति अमनचयन कायम राखेर यसको समृद्धीको लागि सबै नेपाली एक ठाउँमा मिलेर रहनु पर्ने लिमरा खबरलाई बताए ।
“सदियौंदेखि सम्पूर्ण नेपाली एक भएर बाँकेमा बसेको तर अहिले देशमा धार्मिक द्वन्द्व निम्त्याएर बाँकेमा अस्थिरता निम्त्याउन खोजेकोले सबै सर्तक रहनु पर्छ” मगरले भने । उनले एक अर्काको धार्मिक आस्थामा आँच आउने खाले गतिविधि नगर्न समेत आग्रह गरे ।
उनले नेपालको संविधानले कायम गरेको धर्मनिरपेक्षताको मर्म र एकै स्थानमा मिलेर बसेको नेपाली समाजलाई कुनै पनि नाममा भड्काउने काम नगर्न अपिल समेत गरे ।