बाँके असोज ३ गते ।
संविधान दिवसको अवसरमा नेपालगञ्जमा आयोजना गरिएको अन्तरक्रियामा सरोकारवालाहरुले अझैसम्म पनि संविधानको पूर्ण कार्यान्वयन नभएको बताएका छन । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको संविधान कार्यान्वयनमा सरोकारवालको भूमिका विषयक’ अन्तरक्रियामा उपस्थित अधिकांश सहभागीले नेतृत्वमा रहेका व्यक्तिहरुको कमिकमजोरीका कारण संविधानको पूर्ण पालना नभएको जिकिर गरेका छन।
संविधान सभा सभा सदस्य एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी स्वयम् संविधान कार्यान्वयन गर्ने पक्ष नैं कमजोर बन्न पुगेको बताए । उनले भने, ‘संविधान जनताबाट निर्माण हुनु पर्छ भनेर स्व.सुशील कोइरालाले भन्दै गर्दा आज दशक पुग्दासमेत यसको कार्यान्वयन पक्ष बलियो हुन पुगेको छैन । हाम्रो संविधान उत्कृत छ तर हाम्रो कार्र्वान्वयन पक्ष कमजोर छ । त्यसमा सबै पक्षेले जोड दिनु पर्छ ।’
बाल्मिकीले सुरुमा संविधान जारी गर्दै गर्दा केही विरोध आएको बताउँदै भने, ‘सिंगो मधेस समुदायले मधेस क्षेत्र माग गर्दै कतै मधेसी समुदाय नेपालको अर्को हिस्सा बन्ने होकी भन्ने डर त्यति खेर उठेको थियो । यि कुरालाई हामीले समेट्न सकेका छौं ।’यस्तै, राजनीतिज्ञ विश्लेषण डा.जनार्दन आचार्य विश्वको सबैभन्दा खर्चिलो संविधान नेपालको संविधान बन्न पुगेको तर हरेक पटक हामी आफैं जककिँदै जानु पर्ने अवस्था सृजना हुने बताए । उनले भने, ‘विश्वमै सबै भन्दा खर्चिलो नेपालको संविधान बन्न पुगेको छ । झण्डै २९ अरब संविधान जारी गर्नै लाग्यो ।
उनले भने, ‘सम्बावित अर्को वर्ष प्रदेश १ ले अर्कोपटकको संविधान दिवश मनाउन पाउँदैन । संविधानमा हामीले जतिनै कुरा गरे पनि हामीमा बौद्धिकबाद छैन । हामी आफैंले बताएको संविधानको कार्यान्वयनमा हाम्रो जोड छैन ।’यस्तै, बार पूर्व केंद्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ संविधान जारी भएको दिन देशभरी चर्चा भइरहँदा संविधान र बाँके बीचको सम्बन्ध नजिकको रहेको बताए । ‘संविधानका पिता भनेर हामीले चिन्ने स्वर्गीय सुशील कोइराला ज्यु बाँकेबाट प्रतिनिधित्व गर्ने भएकाले बाँकेले आजको दिनलाई खास लिने गरेको छ,’ श्रेष्ठले भने ।
यस्तै, अधिवक्ता विश्वजित तिवारीले सर्वोच्च अदालतले निःशुल्क संविधान वितरण गर्ने आदेश जारी गर्नु आफैंमा धेरै राम्रो काम भएको बताए । उनले पहिलाको संविधानले कर्तव्य निर्धारण नगरेको र अहिलेको संविधानले अधिकार र कर्तव्य दुवै कुरालाई अंकित गरेको बताए । तर अहिलेसम्म संविधानको पूर्ण कार्यान्वन हुन् नसक्नु सबै सरोकारवालाको कमजोरी रहेको उनले जिकिर गरे ।
तिवारीले वर्तमान परिवेशको चर्चाको विषय गाई काण्डबारे बताउँदै, ‘गाई राष्ट्रिय जनावर हो । तर गाईको सरंक्षण गर्ने हामीसँग प्रावधान छैन ।’यस्तै वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले अझै संविधानमा केही त्रुटीहरु रहेको हुनसक्ने जिकिर गरे । उनले भने, ‘अझै पनि हामी संविधान कार्यान्वयनमा अल्झि रहेका छौं भने संविधानमा कहीं कतै खोट छ, भन्ने बुझिन्छ । यसको कुनै पक्षले फाइदा लिई रहेको छ ।’
कर्माचार्यले संविधान कार्यान्वयनमा भएको ढिला सुस्तीमा नागरिक समाजको पनि प्रमुख दायित्व रहेको बताउँदै भने, ‘सुशील दाई अहिले पनि हुनु भएको भए उहाँले पनि हामीले गल्ती गरेका छौ, भन्नु हुन्थ्यो ।’ उनले ७५ प्रतिशत आफूलाई सुधार्न र २५ प्रतिशत अरुलाई सुधार्न लाग्यो भने हरेक कुराको कार्यान्वयन बलियो हुने बताए ।
त्यस्तै वरिष्ठ पत्रकार शिव डोटेलले संविधानलाई सत्ता प्राप्तिका हिसाबले निर्माण गरिएको जानकारी गराउदै संविधान कार्यान्वयनमा समस्या देखियो बताए । ‘संविधान एउटा सहमतिको दस्तावेज हो । जबसम्म सबै राजनीतिक दलहरु बसेर साझा सवाल हुँदैन । तबसम्म संविधानको पूणर् कार्यान्वयन हुँदैन,’ उनले भने । डोलेटलले अहिले आएर संघीयता धर्म निरपेक्षाको कुराले ठूला पार्टीभित्र पसिसकेको बताउँदै संघीयताविरुद्धको आवाज ठूलो हुन सक्ने बताए ।
यस्तै, कार्यक्रममा डा. विनोद कणर्ले संविधान दिवशका दिनमात्र चर्चा गर्ने तर अरू दिन कसैले वास्ता नगर्ने प्रवित्ति हाम्रै समाजमा रहेको बताए । उनले भने, ‘विश्वमा सबैभन्दा सानो संविधान अमेरिकाको छ भने बेलायतमा संविधान नहुँदा पनि ती देशहरुको विकासका अगाडि हामी धेरै पछि छौं । हामीले मोटो किताबको संविधान त्यसै बनाएका हैनौ तर आजसम्म संविधानको धेरै कुराहरु लागू भएको छैन ।’
नेपाल प्रेस सेन्टर केंद्रीय सदस्य डा. दक्त धिताल, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष प्रियास्मृति ढकाल, डब्लु डब्लु जे बाँकेकी अध्यक्ष सावित्री गिरी लगायतले संविधान जारी भएको दशक बित्दा पनि हामीले संविधानलाई बुझाउन नसकेको बताए ।
उनीहरुले जनताका लागि दिएको निःशुल्क स्वास्थ्य सेवा, बेरोजगारी भत्ता, आवासीय व्यवस्था, निःशुल्क स्वास्थ्य सेवा जस्ता साना-साना कामहरु पनि हालसम्म लागू नभएको बताए । नेपाल सानो देश भएकोले निर्वाचन प्रणालीले पनि संविधानलाई कमजोर बनाई रहेको, संविधानले नागरिकका लागि दिएको सेवा सुविधा लुकाइने, जनतालाई प्रत्यक्ष सेवा दिने सेवाहरुमा पटक-पटक दुःख दिन जस्ता कामहरु भई रहेको बताइएको थियो ।