मंसूर अली इद्रिशी
बाँके सावन १३ गते-मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व १० दिनसम्म विभिन्न कार्यक्रम गरेर आज सम्पन्न भएको छ । या अली या हुसैनको नाराका साथ शनिबार नेपालगन्ज लगायत विभिन्न गाउमा धुमधामका साथ ताजिया बिसर्जन गरि मोहरर्म पर्व सम्पन्न भएको हो ।
बाँके जिल्लामा बसोबास गर्ने विभिन्न धर्म समुदायले शुक्रबार राती ताजिया स्थापना गरि रातभरि प्राथना गरि खिचडा, बिरयानी, खीर, सरबत लगायत खुवाइएको थियो । आज मोहरर्म १० तारीखका दिन ताजिया बिसर्जन गरि मोहरर्म पर्वको सम्पुर्ण कार्यक्रम सम्पन्न भएको नेपालगंज १७ परसपुर सहादत मस्जिद ईदगाह कर्बला व्यवस्थापन समितिका सचिव इसराइल शेखले लिमरा खबरलाई जानकारी गराए ।
उहाँका अनुसार सर्वसाधारणले भने सहरका विभिन्न भागमा पुगेर ताजिया र सहरको झिलिमिली अवलोकन गरेका थिए । इराकको कर्बलामा शहीद हुनु भएका पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरूले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् ।
मोहरर्म पर्वको रुपमा नभएर दु:खको महिना भएको धार्मिक अगुवाहरु बताउँछन् । मोहर्रमलाई हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकाले यो पर्व धार्मिक सद्भावको पर्वका रूपमा रहेको नेपालगंज १७ परसपुरका सामाजिक सद्भावका अध्यक्ष राकेस कुमार साहूले बताए।