रबिन्द्र यादव / पश्चिम नवलपरासी
पश्चिम नवलपरासी सावन १२ गते-पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ६ पोखरापाली स्थित सडकको छेउमा बिहिवार बेवारिसे अवस्थामा नेपाली प्लेट नम्बरको स्कुटर फेला पारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट गएको गस्ती टोलीले उक्त स्कुटरलाई बेवारिसे अवस्थामा देखेपछि कार्यालयमा ल्याएको सुचना अधिकारी भोजराज पाण्डेले बताए ।
अहिले उक्त स्कूटर ग २४ प ६२१ नम्बर प्लेट तथा रातो र कालो कलर भएको स्कुटर जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको छ । सम्बन्धित स्कुटर धनीले आफ्ना आवश्यक कागजात सहित कार्यालयमा आएर सम्पर्क राख्न सक्ने उनले बताए ।
एक साता अगाडि जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट एकै दिन रातिको समयमा गाडी धनीको घर आगनबाट ४ वटा मोटरसाइकल चोरी भएको थियो । जिल्लामा मोटरसाइकल चोरीको घटना बढ्दै जादा प्रहरीले रातिको बेला गस्ती बढाउन जरुरी देखिन्छ ।