धनगढी सावन ५ गते।
कैलालीको अत्तरियाबाट बाघको छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार जिल्लाको गोदावरी नगरपालिका-२ रिङरोडबाट बाघको छालासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देवसिंह विष्ट र पाटन नगरपालिका–८ का ३० वर्षका हर्क बहादुर विष्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले जानकारी दिए ।
डीएसपी बरालका अनुसार उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइको बाघको छाला बरामद भएको छ । विशेष सूचनाका आधारमा संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगर र इप्रका मालाखेतीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।