नेपालगंज असार ३० गते ।
बाँकेको जानकी गाँउपालिकामा यति बेला किर्ते हस्ताक्षर बारे चौतर्फी आलोचना भएको छ । योजना अनुगमन समितिको प्रतिवेदनमा गाँउपालिका उपाध्यक्ष रामप्यारी यादवको किर्ते हस्ताक्षर गरिएको पाइएको छ । रकम निकासा अघि नै घटना बाहिरिएपछि किर्ते हस्ताक्षर कस्ले गर्यो भन्ने विषयमा व्यापक आलोचना भएको छ ।
२०८० साल बैशाख १० गते सम्झौता भई असार १५ गते भित्र गाँउपालिकाको मुख्य प्रवेशद्वार निर्माण गर्न पालिका र निर्माण व्यवसायी दिपक विल्डर्स बीच सम्झौता भएको थियो । सात लाख ५० हजार लागतमा निर्माण भएको उक्त प्रवेशद्वारको रकम भुक्तानी कै क्रममा उपाध्यक्ष यादवको हस्ताक्षर किर्ते गरिएको छ। उक्त संरचना निर्माण पछि भुक्तानी निकासा मागअघिको फारममा उपाध्यक्ष यादवको हस्ताक्षर किर्ते गरिएको थाहा पाएपछि फाईल आफ्नो नियन्त्रणमा लिएकी छन ।
पालिका अधिकृत सिंहराज डाँगी अनुसार अनुगमनको संयोजककै हस्ताक्षर किर्ते पाइएपछि रकम निकासा रोकिएको छ । उनले भने, ‘असार १५ गते सम्मको म्यादमा ७ दिन अगाडि नै योजना सम्पन्न भएर आएको छ । अनुगमनको फारममा यस र्फमले कामगर्ने क्रममा किर्ते गरिएको पाइएको छ ।’
उक्त र्फमले हस्ताक्षर किर्ते गरेको विषयमा स्वीकार समेत गरिसकेको अधिकृत डाँगीले पत्रकार सम्मेलनमा जानकारी दिए । पालिकाले प्रशासनिक रुपमा कार्वाही गरिसकेको जनाएको छ । हस्ताक्षर किर्ते गर्नेलाई कार्वाहीका लागि दुई दिन सम्म उपाध्यक्ष यादव जिल्ला प्रहरी समेत धाइसकेको जानकारी दिइन । गलत गर्ने जोकोही भएपनि कार्वाहीको दायरामा ल्याउनुपर्ने उनले बताइन ।
उनले भनिन्, ‘दुई दिन सम्म दर्ता भएन त्यसैले फाइल फिर्ता ल्याए । म आफै २-४ दिन सम्म विचार गर्छु को दोषी छ वा छैन ।’ फेरी पनि फाइल जिल्ला प्रहरीमा लग्ने उनले बताइन । योजना तथा अनुगमन समितिको प्रतिवेदनमा संयोजनक उपाध्यक्ष यादव, पूर्वाधार विकास संयोजक टिकानाथ यादव, कार्यपालिका सदस्य कान्ती कान्दु, प्राविधिक शाखा प्रमुख धन बहादुर रोकाय, प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगी र योजना शाखा प्रमुख शोभा पौडेलको हस्ताक्षर छ । तर उपाध्यक्ष यादवको हस्ताक्षर किर्ते रहेको बुझिएको छ ।