बाँके असार १८ गते ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमवार बसेको निगमको बैठकले आजै राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ ।
त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।