बाँके,बैशाख,१८,गते-आज सोमवार १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमस राष्ट्रको अभियान’ तय गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघलगायतले कार्यक्रम गर्ने जनाएका छन्। २००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७७ वर्ष पार गरेको छ।
विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको थियो। आज सार्वजनिक बिदा दिइएको छ । यसैबीच, नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरले न्यूनतम पारिश्रमिक पाउने अवस्थामा सुधार भएको भए पनि त्यो पर्याप्त नभएको जनाएको छ । श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थासम्बन्धी श्रम अडिट प्रतिवेदन २०७९ सार्वजनिक गर्दै जिफन्टले अझै १५ दशमलव ३० प्रतिशत मजदुरले न्यूनतम पारिश्रमिक नपाएका जनाएको छ ।
श्रमिकहरुले प्राप्त ज्यालाले जीवन धान्न नै मुस्किल पर्ने गरेको बताउँदै आएका छन् । सरकारले श्रमिकको हकहितका लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको छ । तर, यो कार्यक्रममा अझै पनि धेरै श्रमिक समेटिन बाँकी छन् ।
यसैबीच, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो हकहित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको बताउनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनु भएको हो ।