काठमाडौं,वैशाख,१४,गते।
काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।
जसमा कोतःधुकु आयल स्टोरबारे तीन वटा जिज्ञासा राखेको थियो । निगमका अधिकारीहरुकाअनुसार पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा के हो ? भनेर गम्भीर चासो राखिएको थियो ।पत्रको जवाफमा आयल निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेको थियो । जस अनुसार बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
यसअघि काठमाडौं महानगरपालिकाले आयल निगमले मापदण्ड विपरीत रहेका पेट्रोल पम्पहरु हटाउन सहजीकरण नगरेको भन्दै गुनासो गर्दे आएको थियो ।२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय ०७६ मा गरेको थियो । ती मध्ये १६ वटा पम्प राजनीतिक पहुँच लगाएर अझै पनि यथास्थानमै सञ्चालनमा छन् । त्यसमध्ये कोतःधुकु एक रहेको थियो ।