मंसूर अलि इद्रिशि,
नेपालगंज,चैत,१०,गते-इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र मानिने रमजान शुक्रबार बाट सुरु भएको छ । अरबी पात्रोअनुसार रमजान नवौं महिनामा मनाइने पर्व हो । यसमहिनामा इस्लाम धर्ममा आस्था राख्ने विश्वभरका मुस्लिम समुदाय एकमहिने रोजा अर्थात् व्रत बस्छन् । मुस्लिम समुदायका लागि रमजान महिना सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ । यसै महिनामा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरआन अवतरण भएको मान्यता छ । यसैको खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत बस्ने गर्छन् ।
रमजान महिनामा एकमहिनासम्म प्रत्येक दिन १४ घण्टासम्म पानी पनि नखाई व्रत बस्छन् । यस पवित्र महिनाको नियम पनि हो । हरेक बालिग, सम्झदार महिला र पुरुषमाथि रमजान महिनाको रोजा अर्थात व्रत बस्नु अनिवार्य गरिएको छ । तर वृद्धवृद्ध, शारीरिक रूपमा अशक्त, सुत्केरी वा बच्चालाई दूध चुसाउने महिलाहरुमा व्रत बस्नु अनिवार्य हुँदैन ।
रमजान महिनामा बस्ने व्रतलाई रोजा भन्ने गरिन्छ भने रोजा बस्ने व्यक्तिलाई रोजेदार । त्यसो भए के १४ घण्टा पानी पनि नखाई व्रत बस्नु मात्रै रोजा हो तर रोजाको वास्तविक उद्देश्य दिनभर खानपिन नगर्नु मात्रै होइन । कुनै विशेष वस्तुहरुबाट निश्चित शर्तहरुका साथ सूर्योदय हुनुभन्दा पूर्वदेखि सूर्यास्तसम्म विशेषत:खानपिन र संभोगबाट आफूलाई अलग राख्नु सहि अर्थमा रोजा हो । यसरी बस्ने रोजाले अल्लाहको भय उत्पन्न गराउदै आत्मशुद्धी, सन्तुष्टि प्राप्त हुने गर्दछ ।
यस पवित्र रमजान महिनामा जसरी कुविचार र कुकर्मबाट बच्ने गरिन्छ त्यसरी नै अन्य ११ महिनामा समेत बच्न पवित्र ग्रन्थ कुरआनले ईस्लाम धर्मावलम्बीलाई सन्देश दिएको छ । यसमहिनामा बस्ने रोजाले मुस्लिम समुदायमा ईशपरायणता जन्माउने र भलो र सदाचारी बन्न प्रेरित गर्दछ । रमजान दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यसलाई विशेष महिना मानिएको हो । यसमहिनामा गरिने प्रत्येक सुकर्म अन्य महिनाको तुलनामा ७० गुणाबढी पुण्य प्राप्ति हुने विश्वास गरिन्छ । रमजान महिनामा मुस्लिम समुदायले गरिने महत्त्वपूर्ण कुराहरु यस्ता छन् ।
सेहरी : रोजा बस्ने नियतले सूर्योदय हुनुपूर्व गरिने खानपिनलाई सेहरी भनिन्छ । सेहरी खाने व्यक्ति रोजा बस्नु अनिवार्य मानिन्छ । कहिलेकाहीँ सेहरी खान नपाए पनि कतिपय व्यक्ति रोजा भने बस्ने गर्छन् ।
ईफ्तार : सूर्यास्तपश्चात् रोजा तोड्न गरिने खानपिनलाई ईफ्तार भन्ने गरिन्छ । ईफ्तार निश्चित समयमै खुल्ने गरिन्छ यसमा ढिलो गर्नुहुन्न । समयमै रोजा तोड्दा रोजेदारको पुकार स्वीकार हुने विश्वास छ । सदियो देखि मस्जिदमा गएर मुस्लिम समुदायले सामूहिक ईफ्तार गर्ने तयारी गरेका छन् ।
तराविह : रमजान महिनामा पढिने एक विशेष किसिमको नमाजलाई तराविह भनिन्छ । यो रातको समय पढिने नमाज हो । जसमा सम्पूर्ण कुरआनको पाठ गरिन्छ ।
कुरआनको अवतरण : रमजान ईस्लाम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरआन अवतरण भएको महिना हो भने रमजान महिनामा बस्ने रोजा र कुरआनबीच घनिष्ठ सम्बन्ध रहेको छ । यो महिनामा बढी भन्दाबढी कुरआनको पाठ गरिन्छ । मानवजातिको मार्गदर्शन गर्दै सत्य र असत्यबीच अन्तर स्पष्ट गर्नका लागि अल्लाहले कुरआन हजरत मोहम्मदमाथि १७ अगस्त, सन ६१० बाट अवतरण हुन सुरु गर्यो । परिस्थिति र जुन अन्तरवस्तुमा मार्गदर्शन र आदेशको आवश्यकता पर्यो त्यसैअनुरुप कुरआनको अवतरण प्रारम्भ भएको हो । यो सिलसिला मार्च,सन ६६२ सम्म रह्यो । कुरआनमा कुल ११४ सूरह (अध्याय ) र ६६६६ आयात (श्लोक) रहेका छन् ।
शान्ति सदभावको सहर बांके नेपालगंज:विभिन्न जातजाति र समुदायको बीचमा अल्पसंख्यकका रूपमा नेपालगंजमा मुस्लिम समुदाय बस्दै आएका छन् । मुस्लिम समुदायको ईद होस् कि हिन्दु समुदायको दशै वा अन्य धर्मको पर्व सबै समुदाय उत्तिकै उत्साहपूर्ण तरिकाले एक अर्काको पर्वलाई सम्मान गर्ने गरेको पाउन सकिन्छ । मुस्लिम समुदायले सामाजिक सद्भाव र सहिष्णुतालाई मन पराएका छन् । विविधताले भरिपूर्ण हाम्रो समाजमा सअस्तित्वको आधारमा सबै जात धर्म मिलिजुली बस्दै आएका छन् ।