मंसूर अलि इद्रिशि
नेपाल,गंज,९,गते-इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान भोलिदेखि सुरु हुने भएको छ । यो पर्वमा एक महिना सम्म मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बिहान ४:४६ बजेबाट बेलुका ६:३४ बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो।रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । नेपालगंज वडा नम्बर १७ परसपुर शहादत्त मस्जिद का इमाम हफिज कारी मोहम्मद वसिम साहबले लिमरा खबरसंग जानकारी दिंदै भने रमजान महिना हाम्रो लागि निकै महत्त्वपूर्ण एवं पवित्र महिना हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने परसपुर शहादत्त मस्जिद समितिका सचिव इसराईल शेखको भनाइ छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।
देशभरका मुस्लिम समुदायले रमजान इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्वको रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमा याचना गर्ने मुस्लिम समुदायको परम्परा छ । पछिल्लो समय नेपालगंजमा अन्य धर्मावलम्बीले समेत मुस्लिमहरूका लागि ‘इफ्तार’ खुवाउने गरेका छन् ।