बांके,चैत,९,गते।
नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा संयुक्त गठबन्धनको प्यानल विजयी भएको छ । सभापतिमा एमालेनिकट अनेरास्ववियुका माधव खत्री सात सय ५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका जीवनराज सुवेदीले ६ सय ६६ मत पाएका छन् । सचिवमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका हरेन्द्रबहादुर विक नौ सय ७६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका नर्देव थारूले ६ सय ५६ मत पाए।
यसैगरी, कोषाध्यक्षमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका भरतराज बुढथापा आठ सय ७७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका देवी रेग्मीले सात सय ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ । सदस्यमा संयुक्त प्यानलका सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरञ्जीवी बुढा, नीराजन अवस्थी, सुशील बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन् ।
निर्वाचनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी विप्लव, राप्रपालगायत दलका विद्यार्थी संगठनबीच गठबन्धन भएको थियो भने नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनबीच तालमेल भएको थियो ।