काठमाडौँ-पुष १७ गते-भारतीय युवा क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा परेर उपचार गराइरहेका छन्। आफैंले चलाएको कार डिभाइडरमा ठोकिएर भएको दुर्घटनाबाट उनको कार ध्वस्त भएको थियो तर उनको अवस्था भने खतरामुक्त रहेको चिकित्सकहरुले जानकारी गराएका छन्।
भारतिये संचार हिन्दुस्तान टाइम्सले प्रहरीलाई उद्घृत गर्दै उनले रक्सी सेवन गरेर गाडी चलाएको आरोप लागिरहेको छ। तर उत्तराखण्ड प्रहरीले उक्त आरोप खारेज गरिदिएको छ। मदिरा सेवन र बढी गति दुवै नरहेको बताइएको छ। सडक बीचमा एक्कासी देखिएको खाडलबाट जोगिन खोज्दा गाडी अनियन्त्रित भएको उल्लेख गरिएको छ।
उनले ८० किलोमिटर प्रतिघण्टाको स्पिडमा कार चलाइरहेको बताइएको छ। यसअघि उनी प्रतिघण्टा २०० किलोमिटरको गतिमा रहेको हल्ला चलेको थियो। एसएसपी अशोकले भनेका छन्, ‘उनको गाडी धेरै गतिमा थिएन। मदिरा सेवन गरेको पनि देखिएन। सडकबीचमा रहेको खाडलबाट जोगिन खोज्दा दुर्घटना भएको प्रारम्भिक जाँचमा भेटिएको छ।
उनको अवस्था स्थिर रहेको र हाल आईसियुमा उपचाररत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको खुट्टा, टाउको र पिठ्यूँमा चोट देखिएको छ। खुट्टा धेरै सुन्निएका कारण थप चेकजाँच हुन सकिरहेको छैन । खतरामुक्त रहेका पनि उनी क्रिकेटमा फर्किन सक्ने वा नसक्ने उनको खुट्टाको एमआरआइ गरेपछि मात्रै थाहा लाग्ने चिकित्सकहरुले जानकारी गराएका छन्।