काठमाडौँ- पुष १० गते।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन्। सत्ता गठबन्धनबाट आलोपालोमा पहिलो पटक प्रधानमन्त्री दिन देउवाले आनाकानी गरेपछि बालकोट पुगेर एमालेसित नयाँ गठबन्धन बनाएका हुन्। नयाँ सत्ता गठबन्धनमा सात पार्टी रहेको छ । सबैभन्दा ठूलो पार्टी एमाले रहेको छ। तेस्रो पार्टी माओवादीले नेतृत्व पाएको छ ।
आलोपालोमा पहिलो पटक प्रधानमन्त्री र राष्ट्रपति दिन नमान्दा कांग्रेस अब प्रतिपक्षमा खुम्चिने भएको छ। अरु संवैधानिक पद र प्रदेशहरुको सरकार पनि कांग्रेसले गुमाउने भएको छ। अहिलेको एमाले माओवादी सहमतिमा के के भएको छ खासै कुरा बाहिर आएको छैन। तर राष्ट्रपति एमालेले पाउने र साढे दुई वर्षपछि एमालेले प्रधानमन्त्री पाउने भन्ने खबर बाहिर आएका छन्। अरु पदकोबारेमा थप सहमतिहरु हुन बाँकीनै छ ।
प्रचण्डले प्रतिनिधिसभाका १७० जना सांसदको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गर्नुभएको थियो । उहाँलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ । त्यस्तै, तीन जना स्वतन्त्र सांसदले पनि समर्थन जनाएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोलि शपथ ग्रहण गराउने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।