दाङ- मंसिर २० गते
बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सामानहरू रातारात दाङ पुर्याइएको छ।
आवश्यक पूर्वाधार तयार नहुँदै लुम्बिनी प्रदेशका मन्त्रालयहरू दाङ सार्न नहुने भन्दै चौतर्फी बिरोध भइरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्याइएको छ। चुनावपछि प्रदेश सरकार हस्तान्तर नुहँदै संक्रमणकालमा मुख्यमन्त्री कुलप्रसाद केसीले देउखुरीमा राजधानी सार्न हतारो गरिरहेका छन्। प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, अन्य मन्त्रालयका काम दाङबाटै सुरु गर्ने तयारी गरेका छन्।
मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । राजधानीको संरचना सार्ने तयारी भइरहँदा जिल्लाका प्रदेश सांसद, रुपन्देही कांग्रेस र एमालेले विरोध जनाएका छन्।
केहीदिनअघि प्रदेश सांसदहरु लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयां बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरु सार्ने काम तुरुन्त रोक्नमाग गरेको थिए।
राति बुटवलबाट सामान लिएर हिँडेको ट्रक आज बिहान दाङ देउखुरी आइपुगेको थियो । ती सामान प्रहरीहरुको सहयोगमा व्यवस्थापन गरिएको छ । मंसिरभित्रै सबै मन्त्रालय देउखुरीमा स्थानान्तरण गरिसक्ने प्रदेश सरकारको तयारी छ ।