काठमाडौँ-मंसिर ३ गते
भोलि एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको हो ।
२२ हजार २२७ मतदान केन्द्र
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नु हुनेछ ।
निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ ।
७,२१९ पर्यवेक्षण
निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार २१९ जनाले पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगल हालसम्म करिब सात हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ ।
आयोगको निमन्त्रणामा भारत, भूटान, बङ्गलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलङ्का र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहित निर्वाचन व्यवस्थापन गर्ने निकायको टोली मतदानको दिनको अवलोकन गर्न आउने भएको छ । नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ ।
७५% मत खस्ने प्रक्षेपण
निर्वाचन आयोगले आसन्न निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अपेक्षा गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातामैत्री केही प्रावधानले ७० देखि ७५ प्रतिशतसम्म मत खस्ने आयोगको अपेक्षा रहेको बताए ।
स्थानीय तह निर्वाचनमा पनि यही हाराहारीमा मत खसेको, अहिले मतदान गर्नुहुँदैन भन्ने पक्ष र जनमत बलियो नभएको, यो दुइटा निर्वाचन भएको, उम्मेदवार पनि ११ हजार हाराहारी रहेको, ८० भन्दा बढी दलले राजनीतिमा भाग लिएको, दलका संगठनमा आबद्ध तथा शुभचिन्तकहरूको सक्रिय सहभागिता रहेकाले एक करोड ३३ लाखभन्दा बढी मत खस्ने आयोगको विश्वास रहेको उनले बताए । साढे चार लाख अस्थायी मतदाताले पनि मत हाल्न पाउने अवस्था, दुई दिन सरकारी बिदा, निजी क्षेत्रले पनि दुई दिन बिदा दिने सहमति जनाएकाले मत हाल्ने संख्या बढ्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।
सवारीमा कडा नीति नलिएको, सहमतिमा चलाउन दिने नीति र हवाई उडान खुलै भएकाले यी सबै सहजताले मतदान बढ्ने थपलियाको भनाइ छ । प्रमुख आयुक्त थपलियाले ९९ प्रतिशत सदर मत खस्नेमा आयोग ढुक्क रहेको बताए । ‘हाम्रो प्रयास शतप्रतिशत सदर हो । ९९ प्रतिशत सदर नै हुन्छ । बढीमा एक प्रतिशत बदर हुन सक्ने हाम्रो अनुमान छ,’ उनले भने।श्रोत मकालु खबर