नेपालगंज-आश्विन,१७,गते
गाउँघरमा बडा दसैँको रौनक छ । दसैँ खुसी र उमंगको चाड हो । देश विदेशमा रहेकाहरु दसैँमा गाउँघर फर्किन्छन् । टाढा रहेका परिवारका सदस्यहरु विभिन्न योजनासहित दसैँलाई कुर्छन् । उनीहरु आफ्नै थातथलोमा जम्मा भएपछि दसैँको उत्साह निकै बढेको छ । दसैँमा मान्यजनको हातबाट टीका, प्रसाद, आशीर्वाद ग्रहण गर्न विदेशमा रहेकाहरु स्वदेश फर्किन्छन्, सहरमा भएकाहरु गाउँघर फर्कन्छन् ।
विशिष्ट धार्मिक, साँस्कृतिक तथा सामाजिक महत्व बोकेको पर्व भएकाले नै दसैँलाई सबैभन्दा ठूलो पर्वका रुपमा लिइन्छ । सबै जातजाति, भाषा, समुदायले दसैँलाई हर्षाेल्लासका साथ मनाउँछन् । दसैँमा किनमेल गर्नेको सहर बजारमा भीड छ । विभिन्न मिष्ठान्न भोजन गरी आपसी सद्भावका साथ दसैँलाई मनाउने गरिन्छ ।
दसैँ मनाउन सरकारी र निजी कार्यालयमा काम गर्नेहरु बिदा लिएर घर फर्किसकेका छन् । विभिन्न पेसा, व्यवसाय, अध्ययन एवं अन्य कामको सिलसिलामा आफ्नो घर बाहिर रहेकाहरु घर फर्किएका छन् । दसैँलाई विभिन्न समुदाय र भौगोलिक अवस्थाअनुसार फरक–फरक तरिकाले मनाउने प्रचलन छ ।
लुम्बनी प्रदेशका विभिन्न धार्मिक शक्तिपीठहरुमा धुमधामका साथ पूजापाठ गरी दसैँ मनाइन्छ । घटस्थापनाको दिनदेखि कोजाग्रत प्रर्णिमासम्म दसैँलाई मनाउने प्रचलन छ । नेपालगंज का बगेस्वरी मंदिर शक्तिपीठमा प्रसिद्ध देवीमन्दिरमा दसैँको जाँत (मेला) लाग्ने गर्दछ । दसैँलाई नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउँछन् । रातो टीका र जमरा दसैँको प्रसादका रूपमा ग्रहण गर्ने कतिपय नेपालीको मान्यता छ । तर, यही नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाङ, थारू आदिले दहीसँग मुछेर सेतो अक्षताको टीका लाएर विजयदशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक मनाउने चलन छ ।
विधिपूर्वक घटस्थापनाको दिनदेखि नवरात्र प्रारम्भ हुन्छ । दशौँ दिनसम्म धार्मिक अनुष्ठानसहित दसैँ मनाइने भएकाले बडा दसैँ भनिएको हो । घटस्थापनाको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाउने गरिन्छ ।